आइएमई लाइफ इन्स्योरेन्सको ९ औं वार्षिकोत्सव अवसरमा अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

  • Technology Khabar | २ भाद्र २०८३, मंगलवार
आइएमई लाइफ इन्स्योरेन्सको ९ औं वार्षिकोत्सव अवसरमा अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

काठमाडौं ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौं वार्षिकोत्सव मनाएको छ।

नवौं वार्षिकोत्सवको सन्दर्भमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय अविष्कार केन्द्र (नेशनल इनोभेसन सेन्टर, एनआईसी) सँग सहकार्य सम्झौता (एमओयू) गरेको छ।

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान गरी उत्पादन गरेको न्यानो नानी (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थाहरूमा वितरण गरिने जनाइएको छ।

कार्यक्रमको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले यस सम्झौताले दुवै संस्थाबीचको दीर्घकालीन साझेदारीको जग बसाल्नुका साथै नवजात शिशु स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत रूप दिएको बताए।

“न्यानो नानी” समय नपुगी जन्मने वा कम तौल भएर जन्मने नवजात शिशुहरूलाई आवश्यक तापक्रम उपलब्ध गराई तिनको ज्यान जोगाउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो, जुन विशेष गरी दुर्गम तथा स्वास्थ्य सुविधाबाट टाढा रहेका क्षेत्रहरूमा अत्यन्त उपयोगी सावित भएको छ।

यस सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय अविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूलाई दश थान न्यानो नानी उपकरण हस्तान्तरण गर्दैछ । भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र न्यून पहुँचका कारण यी दुई प्रदेशका दुर्गम क्षेत्रमा जन्मने नवजात शिशुहरूले वर्षौंदेखि भोगिरहेको स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्ने आशयका साथ कम्पनीले यो पहल थालेको हो । कम्पनीका अनुसार यी उपकरणहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्था र उपयुक्त स्थानहरूमा जडान गरिनेछ, जसले गर्दा ती क्षेत्रका नवजात शिशुहरूको मृत्युदर घटाउन र आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ।

यसैगरी  नवौं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूको उद्देश्य समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्वबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्नु रहेको बताए।

प्रकाशित: २ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nammi to launch new Vigo E2 “Full SUV” in Nepal

  • Technology Khabar
  • २ भाद्र २०८३, मंगलवार