काठमाडौं ।
नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ। नेपाल टेलिकमले आज देखि यो सेवाको शुभारम्भ गरेको हो।
टेलिकमले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे सर्वसाधारणलाई जानकारी दिएको हो। कम्पनीङ्का अनुसार हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Apply for Lost/Damaged SIM मा क्लिक गरेपछि दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।
सम्पूर्ण विवरण भरिसकेपछि ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सक्ने छन्। यसका लागि आवश्यक ५० रुपैयाँ काउन्टरमै तिर्नुपर्नेछ भने आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फारममै उल्लेख गर्नु पर्नेछ।
प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ। ग्राहकको गोपनियता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको हो।
टेलिकमले esim.ntc.nt.np लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरेको हो। यस पोर्टल अन्तर्गत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाईसी अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार