सिसी क्यामराको निगरानीमा भरतपुर महानगरपालिका

  • Technology Khabar | ३२ असार २०८३, बिहीबार
सिसी क्यामराको निगरानीमा भरतपुर महानगरपालिका

काठमाडौं ।

भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ ओटै वडामा सिसी क्यामरा जडान गरेको छ।

महानगरपालिकाले कुल ४१८ ओटा सिसी क्यामरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिए। उनका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामरा जडान गरिएको छ।

एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० ओटासम्म क्यामरा जडान गरिएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो।
महानगरले पहिलोपटक आह्वान गरेको बोलपत्र प्राविधिक मूल्याङ्कनमा असफल भएपछि पुनः बोलपत्रमार्फत क्यामेरा जडान गरिएको जनाएको छ। जडान गरिएका क्यामेरामध्ये आठओटा गति मापन गर्ने र चार वटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौ वटा छन्।
गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ।
प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामरा जडान गरिएको हो। साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ।
सिसी क्यामराको मनिटर जिल्ला प्रहरी कार्यालयमा रहेको छ। यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्तिसुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ। महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ। रासस

प्रकाशित: ३२ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...