सूचना प्रविधि केन्द्रको सेक्यूरिटी एप्लिकेसन खरिदमा तत्कालीन कार्यकारी निर्देशक पौडेल र दिपक आनन्द भ्रष्ट्राचारी ठहर

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
सूचना प्रविधि केन्द्रको सेक्यूरिटी एप्लिकेसन खरिदमा तत्कालीन कार्यकारी निर्देशक पौडेल र दिपक आनन्द भ्रष्ट्राचारी ठहर
सुनिल पौडेल, पूर्व कार्यकारी निर्देशक राष्ट्रिय सूचना प्रविधि केन्द्र

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलले सेक्यूरिटी एप्लिकेसन तथा नेटवर्क उपकरण खरिदमा भ्रष्ट्राचार गरेको विशेष अदालतले ठहर गरेको छ।

विशेष अदालतका न्यायाधिशहरु सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको मंगलबार बसेको संयुक्त इजलासले पौडेलसहित उक्त टेन्डरमा सहभागी भएको एफ ५ (F5) कम्पनीका नेपाल प्रतिनिधि दिपक आनन्दले पनि कसूर ठहरेको फैसला गरेको छ।

दुबैले NITC /G/NCB-7-074/75 For Supply, Delivery and Installation of Security Application and Network Equipment ठेक्का एवं खरिद प्रक्रियाको क्रममा विभिन्न चरणमा वार्तालाप गरेको देखिएको भन्दै निज प्रतिवादीहरुबीच मूल्य सौदावाजी भएको र अन्ततः परामर्श फि वापत भनी सुनिल पौडेलले २ लाख ८० हजार अमेरिकी डलर प्राप्त गर्नेगरी सहमति भएको भन्ने निज प्रतिवादीहरूका बीचमा भएको च्याट वार्तालापबाट समेत देखिने अदालतले ठहर गरेको छ।

“…सुनिल पौडेलले खरिद प्रक्रियासँग सम्बन्धित तेस्रो व्यक्ति प्रतिवादी दिपक आनन्दसँग औपचारिक खरिद प्रक्रियाभन्दा बाहिर गई गरेको वार्तालाप, मोलमोलाइ तथा गैरकानूनी लाभ लिने सम्मको चरणबद्ध वार्तालाप समेतबाट यी प्रतिवादी सुनिल पौडेलले २,८०,०००/- अमेरिकी डलरको तत्कालको परिवर्त्य विनिमय दर बमोजिम हुने नेपाली रु.३,०८,५०,४००/- रिसवत लिन मन्जुर भई आरोपदावीको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसूर गरेको ठहर्छ,” इजलासले भनेको छ।

यस्तैगरी अर्का आरोपी दीपक आनन्दले उक्त रिसवत दिन मन्जुर गरेको भन्दै उनलाई पनि अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (३) बमोजिमको कसूरमा सजाय गर्ने भएको हो।

दुबैले आपसमा रकम लेनदेन गरेको भएपनि कुन बैंकमा उक्त रकम जम्मा भयो भन्ने स्पष्ट नभएको अदालतले उल्लेख गरेको छ।

बिगो जफतको मागदावी तर्फ विचार गर्दा, उक्त आरोपदाबीको रकम वरामद हुन सकेको नदेखिएको साथै सो रकम के कुन स्थान वा बैंकमा जम्मा गरिएको छ भन्ने विषयमा आरोपपत्रमा स्पष्ट दावी हुन सकेको अदालतको भनाई छ जसले गर्दा सो बिगो जफततर्फको आरोपदावी पुग्न नसक्ने ठहर गरेको छ।

सुनिल पौडेलबाट बरामद भएको आईफोन/प्रोम्याक्स मोबाइल डिभाइसको ब्याकअप रहेको डेल ल्यापटपको फोरेन्सिक ल्याब परीक्षण प्रतिवेदनकाअनुसार उल्लिखित खरिद कार्यको अनुमानित मूल्य (Cost estimate), दरभाउ प्रस्ताव (Quatation), सामान तथा उपकरणहरुको विवरण एवं मूल्यका विषयमा यी प्रतिवादी सुनिल पौडेलले एफ ५ (F5) को नेपाल प्रतिनिधि प्रतिवादी दिपक आनन्दसँग विभिन्न चरणमा वार्तालाप गरेको देखिएको उल्लेख छ। सोही क्रममा पौडेलले आनन्दसँग घुस लिएको अदालतले फैसलामा भनेको छ।

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार