संस्कृति इन्टरनेशनल स्कुल र पञ्चकन्या माध्यमिक विद्यालयबीच सहकार्य

  • Technology Khabar | २९ असार २०८३, सोमबार
संस्कृति इन्टरनेशनल स्कुल र पञ्चकन्या माध्यमिक विद्यालयबीच सहकार्य

काठमाडौं ।

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ।

सहकार्यअन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबमा निःशुल्क विशेष कक्षा सञ्चालन गरिनेछ।

शैक्षिक वर्षभर सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ तथा कृत्रिम बौद्धिकता, रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्स लगायतका (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । साथै, समुदायलाई उपयोगी हुने विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहन गरिनेछ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेशनल स्कुलले गर्नेछ। कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ।

शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने यस कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औं शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच तथा व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।

दुवै विद्यालयले यो गैर–व्यावसायिक सहकार्यबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्ताका नवप्रवर्तक तयार पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...