काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्दै अश्लील सामग्री प्रयोग गरेर ब्ल्याकमेल तथा मानसिक यातना दिएको आरोपमा दुई छुट्टाछुट्टै घटनामा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राऊ पर्नेमा एउटा घटनामा संलग्न भारतको आसाम राज्य, मदनपुर–गुवाहाटी ठेगाना भएको २६ वर्षीय भारतीय नागरिक जावरुल हक रहेका छन्।
ब्युरोका अनुसार पक्राऊ परेका हकले पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर प्रयोग गरी अनुचित लाभ लिन निरन्तर दबाब दिएका र पीडितको अनुमति बिना अश्लील भिडियो तथा तस्बिर टिकटकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्रहत्या गर्ने कामसमेत गरेका थिए।
उनलाई असार २६ गते काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए।
यसैगरी अर्को घटनामा अध्ययनका क्रममा साथी बनेर प्रेम सम्बन्ध रहेको र सो सम्बन्ध टुटेपछि पीडित युवतीमाथि फेसबुक आईडीमार्फत अश्लील सामग्री पठाई दु:ख, हैरानी र मानसिक तनाव दिने तथा चरित्रहत्या गर्ने गतिविधि गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २४ वर्षीय सरोज कार्कीलाई पनि साउन २६ गते पक्राउ गरिएको हो।
कार्कीविरुद्ध पनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।
प्रकाशित: २९ असार २०८३, सोमबार