काठमाडौं ।
लुम्बिनी सिटी कलेजका विद्यार्थीहरूले स्थापना गरेको प्रविधिमूलक समुदाय लुम्बिनी एलिट उपभोक्ता समितिले आगामी साउन २३ देखि २५ गतेसम्म राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनीएक्स’ ह्याकाथन आयोजना गर्न लागेको छ। रूपन्देही स्थित लुम्बिनी सिटी कलेजमा हुने यो कार्यक्रमका लागि दर्ता खुलेको छ।
‘Where Spirituality Meets Innovation’ नारासहित हुन लागेको यस ह्याकाथनमा नेपालभरका विद्यालय र स्नातक तहका विद्यार्थीहरू तीन देखि चार जनाको टोली बनाई सहभागी हुन सक्नेछन्।
आयोजकका अनुसार देशभरबाट प्राप्त हुने आवेदनमध्ये उत्कृष्ट १० टोली छनोट गरिनेछ र तिनीहरूलाई प्रत्यक्ष प्रतिस्पर्धाका लागि लुम्बिनी सिटी कलेज बोलाइनेछ। प्रतिस्पर्धा सुरु हुनुअघि छनोट भएका टोलीलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गराइने पनि जनाइएको छ।
छनोट भएका टोलीले आफ्ना परियोजना अझ प्रभावकारी ढंगले विकास र प्रस्तुत गर्न सकून् भनेर क्लोड प्रो र क्यान्भा प्रोजस्ता सुविधा उपलब्ध गराइनेछ। साथै ह्याकाथनभर उद्योग क्षेत्रका विज्ञ तथा मेन्टरहरूले सहभागीलाई मार्गदर्शन गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ।
सहभागी हुन चाहने टोलीले www.lumbinix.com मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। दर्ता गर्ने अन्तिम मिति श्रावण १७ गते सम्म तोकिएको छ।
प्रकाशित: २८ असार २०८३, आईतवार