काठमाडौं ।
परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ।
कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ। मध्यविन्दु नगरपालिका–१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गरिरहेको छ।
परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनमार्फत छोटो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन्। मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाइँ व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताए।
“खेतीपातीमा जनशक्ति अभाव हुँदै गइरहेको अवस्थामा आधुनिक प्रविधिले कृषि कार्यलाई सहज बनाएको छ”, उनले भने, “कम श्रम र कम समयमा बढी काम गर्न सकिने भएकाले कृषि यान्त्रीकरणप्रति किसानको विश्वास बढ्दै गएको छ।”
मध्यविन्दु नगरपालिकाले कृषि उत्पादन वृद्धि र कृषिलाई व्यावसायिक तथा प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै आएको नगरप्रमुख भिमलाल अधिकारीले बताए।
नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायतका आधुनिक कृषि उपकरण किसानलाई ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए।
“कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने र युवालाई कृषि पेसाप्रति आकर्षित गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने।
जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गैँडाकोट नगरपालिकाका पाँच वडामा धान जोन कार्यक्रम सञ्चालनमा रहेको छ। कृषक समूहहरूले त्यहाँ पनि धान रोप्ने मेसिन प्रयोग गर्दै आएका छन् भने यस वर्ष कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा करिब १९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालले जनकारी दिए। जिल्लामा पछिल्लो वर्षदेखि धान रोप्ने मेसिनलगायतका आधुनिक कृषि यन्त्रतर्फ किसानको आकर्षण र माग बढेको उनले बताए।
“कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव, बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका चुनौतीका बीच आधुनिक प्रविधिको प्रयोग किसानका लागि आवश्यकता बन्दै गएको छ”, उनले भने, “खेतीपातीमा यान्त्रीकरणको विस्तारसँगै किसानको श्रम घट्नुका साथै कृषि पेसाप्रति आकर्षण पनि बढ्दै गएको छ।”-रासस
प्रकाशित: २३ असार २०८३, मंगलवार