अश्लील वेबसाइट हेरेको आरोप लगाउँदै आउने नक्कली इमेलप्रति सचेत रहन साइबर ब्यूरोको आग्रह

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
अश्लील वेबसाइट हेरेको आरोप लगाउँदै आउने नक्कली इमेलप्रति सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले अश्लील तथा प्रतिबन्धित वेबसाइट हेरेको आरोप लगाउँदै कानुनी कारबाहीको धम्की दिने नक्कली इमेलप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

ब्यूरोका अनुसार पछिल्लो समय विभिन्न अनधिकृत इमेलमार्फत नेपाल प्रहरी र साइबर ब्यूरोको नाम तथा प्रहरी अधिकृतहरूको नाम दुरुपयोग गरी ‘तपाईंको इन्टरनेट आईपी ठेगाना अश्लील तथा आपत्तिजनक वेबसाइटमा पहुँच गरेको पाइएकाले कानुनी कारबाही गरिनेछ’ भन्ने आशयका इमेल पठाउने गरिएको गुनासो प्राप्त भएको छ।

यस्ता इमेलहरू भ्रामक तथा फिसिङ प्रकृतिका भएकाले त्यसमा विश्वास नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ। ब्यूरोले नेपाल प्रहरीले nepalpolice.gov.np डोमेन भएको आधिकारिक इमेल मात्र प्रयोग गर्ने जनाएको छ। उदाहरणका लागि [email protected] आधिकारिक इमेल ठेगाना रहेको उल्लेख गरिएको छ।

साइबर ब्यूरोले इमेल वा इन्टरनेटमार्फत प्राप्त हुने यस्ता सन्देशको तथ्य जाँच (फ्याक्ट चेक) गरेर मात्र विश्वास गर्न तथा शंकास्पद वा भ्रामक फिसिङ इमेललाई ‘मार्क एज स्पाम’ वा ‘रिपोर्ट स्पाम’ गर्न पनि आग्रह गरेको छ।

ब्यूरोका अनुसार फिसिङ इमेल नेपालमा मात्र नभई विश्वव्यापी रूपमा देखिएको साइबर अपराधको एउटा सामान्य माध्यम भएकाले यस्ता सन्देशबाट सचेत रहनुपर्ने आवश्यकता रहेको छ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार