काठमाडौं ।
नेपाल टेलिभिजनको स्याटेलाइट लिंक खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे छानबिन गरिरहेको समितिले महत्वपूर्ण कागजातहरू आफ्नो नियन्त्रणमा लिएको छ।
सार्वजनिक सेवा प्रसारक (पीएसबी) मा रूपान्तरण हुनुअघि तत्कालीन कार्यकारी अध्यक्ष महेन्द्र विष्टको कार्यकालमा थाइल्याण्डको पीसीएल कम्पनीसँग गरिएको स्याटेलाइट खरिदमा अनियमितता भएको आरोपबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुसन्धान अघि बढाइरहेको छ।
उक्त प्रकरणको छानबिनका लागि मन्त्रालयले गत जेठ २२ गते इञ्जिनियर आभाष मास्केको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नविनकुमार मिश्र सदस्य छन्। गठन लगत्तै समितिले पटक–पटक नेपाल टेलिभिजन पुगेर सम्बन्धित कागजात माग गरेको थियो।
तर स्रोतका अनुसार तत्कालीन खरिद प्रक्रियामा संलग्न केही कर्मचारीले पूर्व कार्यकारी अध्यक्ष महेन्द्र विष्ट तथा अन्य सम्बन्धित अधिकारीहरूको निर्देशनमा छानबिन समितिलाई आवश्यक सहयोग नगरेको आरोप छ।
केही कर्मचारीले सहयोग गरे पनि खरिद प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूको प्रभावका कारण समितिले आवश्यक कागजात प्राप्त गर्न कठिनाइ भोग्नुपरेको बताइएको छ।
यसैबीच प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले बिहीबार आकस्मिक बैठक बोलाएर विभिन्न १४ स्थानमा हस्तक्षेप गरेपछि समितिले आवश्यक सबै कागजात आफ्नो जिम्मामा लिएको नेपाल टेलिभिजन स्रोतको भनाई छ। वरिष्ठ अधिकारीहरूको आकस्मिक बैठकपछि कागजातहरू तत्काल नियन्त्रणमा लिइएकाले अब अनुसन्धान प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ।
यद्यपि समितिले अझै पनि केही महत्वपूर्ण कागजात लुकाइएको हुन सक्ने आशंका व्यक्त गरेको स्रोतको दावी छ। त्यसैले अनुसन्धानको दायरा थप फराकिलो बन्न सक्ने संकेत देखिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिभिजनमा विगतमा भएका भनिएका अनियमिततामाथि निष्पक्ष छानबिन गर्न कडा नीति अपनाएको बताइन्छ। विगतका व्यवस्थापनसँग निकट मानिएका केही कर्मचारीको प्रभावका कारण अनुसन्धान प्रभावित हुन सक्ने अवस्था देखिएपछि नयाँ व्यवस्थापनले प्रत्यक्ष हस्तक्षेप गरी छानबिन समितिलाई आवश्यक सहयोग उपलब्ध गराएको बुझिएको छ।
समितिले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको र केही दिनभित्रै मन्त्रालयसमक्ष छानबिन प्रतिवेदन बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।
प्रकाशित: १७ असार २०८३, बुधबार