काठमाडौं ।
‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएको छ। नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त सम्मेलन वर्डप्रेस काठमाडौं स्थित गौरीधारामा हुन लागेको हो।
दुई दिनसम्म चल्ने यस कार्यक्रमको पहिलो दिन वर्डप्रेसलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन मुख्य सम्मेलन हुनेछ।
सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, उन्नत एसइओ र डिजिटल मार्केटिङ जस्ता समसामयिक र भविष्यमुखी प्राविधिक विषयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्।
प्राविधिक नेतृत्व विकास र प्रविधिको विकेन्द्रीकरणलाई जोड दिँदै यसअघि बुटवल, पोखरा र भरतपुरमा समेत वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसले मोफसलमा पनि प्रविधिप्रतिको आकर्षण बढाउनुका साथै ‘टेक–टुरिजम’ को सम्भावनालाई उजागर गरेको आयोजकको भनाई छ।
कार्यक्रममा अमेरिका युरोप बंगलादेश इन्डिया लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय ५०० भन्दा बढी सहभागी र ३० भन्दा बढी विज्ञ वक्ताहरूको सहभागिता रहने छ । उक्त कार्यक्रमले उपत्यकाको ऐतिहासिक सम्पदा र खुला स्रोत दर्शनको सहकार्यलाई जोड्ने लक्ष्य राखेको छ।
विश्वको करिब ४३ प्रतिशत वेबसाइट सञ्चालन गर्ने वर्डप्रेसले नेपालका विकासकर्ता, डिजिटल उद्यमी र एजेन्सीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न उत्कृष्ट आधार प्रदान गरिरहेको सन्दर्भमा यो सम्मेलनलाई निकै चासोका साथ हेरिएको छ।
वर्डप्रेसले युवाहरूलाई स्वतन्त्र पेशा (फ्रिलान्सिङ) मार्फत वैदेशिक मुद्रा आर्जन गर्न, स्वदेशमै रोजगारी सिर्जना गरी प्रतिभा पलायन रोक्न र साना व्यवसायहरूलाई डिजिटल रूपान्तरण गर्न क्रान्तिकारी भूमिका खेलेको छ।
पारदर्शी डिजिटल टिकट प्रणाली र समावेशी नेतृत्वसहित आयोजना हुन लागेको यस सम्मेलनले नेपाललाई दक्षिण एसियाकै प्रमुख आईटी हबको रूपमा विकास गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।
प्रकाशित: १७ असार २०८३, बुधबार