काठमाडौं ।
इन्स्टाग्रामले ‘योर अल्गोरिदम’ फिचरलाई थप अनुकूल बनाउन नयाँ विकल्पहरूको परीक्षण गरिरहेको छ।
इन्स्टाग्राम प्रमुख एडम मोसेरीले हालै सार्वजनिक गरेको एक पोस्टमा प्रयोगकर्ताले आफूलाई कुन विषयका सामग्री बढी र कुन विषयका सामग्री कम देखाउन चाहन्छन् भन्ने सेटिङलाई थप सहज रूपमा प्रयोग गर्न सक्ने नयाँ तरिकाहरू देखाएका छन्।
‘योर एल्गोरिदम’ फिचर इन्स्टाग्रामले गत वर्ष सार्वजनिक गरेको थियो। त्यसयता यो फिचरलाई एपका थप भागहरूमा विस्तार गर्दै लगिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
मोसेरीले भने, “हामी ‘योर एल्गोरिदम’लाई केवल एउटा सेटिङ नभई इन्स्टाग्राम प्रयोगको मुख्य अनुभवको हिस्सा बनाउन चाहन्छौं।” उनले थपे, “यीमध्ये केही फिचर अहिले परीक्षणमा छन्, केही चाँडै आउनेछन् र केहीले अपेक्षित रूपमा काम नगर्न पनि सक्छन्।”
उनले देखाएका उदाहरणहरूमा इन्स्टाग्राम फिडमा तलतिर तानेपछि ‘योर एल्गोरिदम’ मेनु खुल्ने सुविधा, रिल्स हेर्दा माथितिर स्वाइप गरेपछि सामग्री अनुकूलन गर्ने विकल्प देखिने सुविधा तथा प्रत्येक रिल्सको तल त्यस्तै रिल्स बढी वा कम देखाउन चाहेको संकेत गर्न सकिने बटन समावेश छन्।
मोसेरीको पोस्टमा आएका धेरैजसो प्रतिक्रियामा भने एउटै माग देखिएको छ। एक प्रयोगकर्ताले लेखेका छन्, “हामी हाम्रो अल्गोरिदमले हामीले फलो गरेका व्यक्तिहरूकै पोस्ट देखाओस् भन्ने मात्र चाहन्छौं।”
प्रकाशित: १५ असार २०८३, सोमबार