ताजा समाचार

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
नारायणगढ (चितवन), ११ असारः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि बिहीबार मतदान गरेपछि प्रतिक्रिया दिनुहुँदै। तस्बिरः सनद अधिकारी/रासस
Global IME Bank

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन।

आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गरे। “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उनले भने।

आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी पाँच वर्षमा देशले गति लिएजस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उनको भनाइ थियो।

सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले सबै सरोकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानुन संशोधनमार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताए।

सञ्चारकर्मीसँगको सहकार्यबाट यस क्षेत्रलाई सबैले गर्व गर्न सक्ने र जिम्मेवार संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

पृथक प्रसङ्गमा उनले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्नेगरी काममा क्रियाशील रहेको बताए।

सञ्चार क्षेत्रको उन्नति, यसलाई सम्मानित क्षेत्रका रूपमा स्थापना गर्ने र जनविश्वास आर्जन गर्ने बनाउन सबैले गम्भीर भएर मनन गर्नुपर्ने अवस्था आएको उनले बताए।

उनले सञ्चार क्षेत्रमा देखिएका समस्याको खोजी गरी समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।

सञ्चार क्षेत्र बलियो बनाउन सञ्चारकर्मी स्वयं जिम्मेवार हुनुपर्ने उनको कथन थियो।

विज्ञापन क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले विज्ञापन नीति ल्याउने तयारी गरिरहेको जानकारी सञ्चारमन्त्रीले दिए। विज्ञापन क्षेत्रलाई उद्योगका रूपमा विकास सरकारको लक्ष्य रहेको उनको कथन थियो।

“विज्ञापनलाई औपचारिक क्षेत्रमा कसरी रूपान्तरण विज्ञापन नीति केन्द्रित छ,” उनले भने।

लोककल्याणकारी विज्ञापन सरकारले नरोकेको स्पष्ट गर्दै मन्त्री तिमिल्सिनाले वास्तविक श्रमजीवी पत्रकारलाई यसबाट लाभान्वित गराउन सरकारले चाहेको बताए। रासस

Sajilo Visa
easy care