
काठमाडौं ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले हितग्राही खातासम्बन्धी विवरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा समावेश गर्न निर्देशन जारी गरेको छ। कम्पनीले हालै एक विज्ञप्ति जारी गरी त्यसमार्फत् सबै निक्षेप सदस्य हरूलाई सम्बोधन गर्दै ब्याक अफिस प्रणाली प्रयोग गर्ने संस्थाहरूमा हितग्राही विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर समावेश गर्ने व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो।
कम्पनीले जारी गरेको सूचनाअनुसार मिति २०८३ साल असोज १ गतेदेखि नयाँ हितग्राही खाता खोल्दा तथा हाल सञ्चालनमा रहेका खाताहरू अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने व्यवस्था लागू हुनेछ।
यसअघि पनि ब्याक अफिस प्रणालीमार्फत हितग्राही विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश गर्ने विषयमा प्रणाली विकास गर्न पत्राचार गरिएको थियो। हालको निर्णयले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउँदै थप कडाइ गरिएको हो।
क्लियरिङ्ग हाउसले सबै निक्षेप सदस्य संस्थाहरूलाई समयमै आवश्यक प्रणालीगत सुधार गरी नयाँ व्यवस्था पूर्ण रूपमा लागू गर्न निर्देशन दिएको छ। यस निर्णयसँगै धितोपत्र बजारमा पारदर्शिता बढ्ने, लगानीकर्ताको पहिचान थप स्पष्ट हुने तथा प्रणालीगत जोखिम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार