
काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरूले नेपालका नागरिक एप, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) तथा हेलो सरकारजस्ता डिजिटल प्रणालीहरूको सुदृढीकरण र प्रभावकारी उपयोगमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम पाण्डेसँग हालै भएको औपचारिक भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन्। भेटवार्तामा डिजिटल शासन, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा, मिडिया सुधार तथा सेवा प्रवाहमा प्रविधिको प्रयोगलगायत विषयमा छलफल भएको थियो।
संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरूले डिजिटल साक्षरता, मिडियाको क्षमता विकास, प्रविधिमैत्री सेवा प्रवाह, साइबर अपराध नियन्त्रण तथा डिजिटल सुरक्षा सुदृढीकरणका क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको जानकारी गराएका थिए।
सो अवसरमा उनीहरूले नागरिक एप, जीआईओएमएस र हेलो सरकार प्रणालीको थप सुदृढीकरण तथा प्रभावकारी कार्यान्वयनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा मन्त्री डा. पाण्डेले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै मिडियालाई जिम्मेवार, उत्तरदायी र समाजोपयोगी बनाउन पत्रकारका लागि तथ्य परीक्षण, क्षमता अभिवृद्धि तथा मिडिया नियमन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताएका थिए।
उनले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार, विश्वसनीय सूचना प्रवाह तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय निकायसँगको सहकार्य थप विस्तार गर्न सरकार इच्छुक रहेको जानकारी दिएका थिए।
भेटवार्तामा सरकारको प्रमुख प्राथमिकतामध्ये डिजिटल रूपान्तरण रहेको उल्लेख गर्दै इन्टरनेट पहुँच विस्तार, डिजिटल पूर्वाधार विकास, हुलाक सेवा सुधार तथा सरकारी संस्थाहरूको क्षमता अभिवृद्धिमार्फत सेवा प्रवाहलाई थप सहज र नागरिकमैत्री बनाउने विषयमा समेत छलफल भएको थियो।
प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार