ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा विशेष क्रेडिट कार्ड सुविधा

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा विशेष क्रेडिट कार्ड सुविधा

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई भाटभटेनीका सम्पूर्ण स्टोरबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन-द-फ्लाई ईएमआई सुविधा उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ दुई संस्थाबीच यो व्यावसायिक सहकार्य सुरु गरिएको हो।

सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा तत्काल किस्ताबन्दी सुविधा प्राप्त गर्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन। ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी किस्तामा भुक्तानी गर्न सक्नेछन्। यस योजनाअन्तर्गत ग्राहकबाट कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लिइने छैन।

यस सुविधाले विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल पर्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने तथा योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ।

साथै, यस सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बीबीएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिनेछ।

भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन्। प्रारम्भिक चरणमा यो कार्ड बीबीएसएम तथा यसका नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

उक्त कार्डमार्फत ग्राहकले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन गरिने विभिन्न ग्राहकमुखी योजनाको लाभ लिन सक्नेछन्।

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीचको यस सहकार्यले डिजिटल भुक्तानीको प्रवर्द्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लाभान्वित बनाउने उद्देश्य लिएको बैंकले जनाएको छ।

दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा ग्राहक केन्द्रित विशेष योजना सञ्चालन गरी ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन्। यस योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा उपलब्ध गराउनुका साथै विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको छ।

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अर्को मस्ट्याङ ल्याउने फोर्डको संकेत

  • Technology Khabar
  • २५ जेष्ठ २०८३, सोमबार