राष्ट्रिय सुरक्षासम्बन्धी कार्यमा एआईको विकास र प्रयोगलाई तीव्र बनाउँदै अमेरिकी सरकार

  • Technology Khabar | २४ जेष्ठ २०८३, आईतवार
राष्ट्रिय सुरक्षासम्बन्धी कार्यमा एआईको विकास र प्रयोगलाई तीव्र बनाउँदै अमेरिकी सरकार
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

अमेरिकी सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी कार्यमा एआईको विकास र प्रयोगलाई तीव्र बनाउने बताएको छ। साथै यो प्रविधि गैरकानुनी निगरानीका लागि प्रयोग गर्न नहुनेमा जोड दिएको छ।

ह्वाइट हाउसले शुक्रबार जारी गरेको वक्तव्यमा राष्ट्रिय सुरक्षासम्बन्धी प्रयोजनका लागि एआईको विकास र प्रयोगलाई तीव्र बनाइने जनाएको हो।

रोयटर्सका अनुसार यसै साता ट्रम्प प्रशासनले प्रमुख एआई विकासकर्ताहरूलाई आफ्ना सबैभन्दा सक्षम एआई मोडेलहरू सार्वजनिक रूपमा जारी गर्नुअघि सरकारी साइबरसुरक्षा परीक्षणका लागि स्वेच्छिक रूपमा उपलब्ध गराउन आग्रह गर्ने बताएको थियो। वासिङ्टनमा शक्तिशाली नयाँ एआई प्रणालीहरूको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यस्तो कदम चालिएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सम्बन्धी एक स्मरणपत्रमा भने, “मेरो प्रशासनअन्तर्गत अमेरिकाले अमेरिकी मूल्य–मान्यताअनुसार गुप्तचर तथा युद्धसम्बन्धी क्षेत्रमा एआईको प्रयोगलाई जिम्मेवार ढंगले तीव्र बनाउन सक्छ र बनाउनेछ।”

ट्रम्पले रक्षा सचिव पिट हेगसेथलाई हतियार प्रणालीको स्वायत्ततासम्बन्धी विद्यमान निर्देशन ९० दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएका छन्। उनका अनुसार आदेशको शृङ्खलाको सम्मान गर्ने एआई प्रणालीहरूलाई योजनाबद्ध रूपमा अपनाइएको सुनिश्चित गर्न यो कदम चालिएको हो।

ट्रम्पले राष्ट्रिय सुरक्षा निकायले एआई प्रविधिको विकास वा प्रयोग अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न वा अनुमति बिना तथा गैरकानुनी निगरानी गतिविधि सञ्चालन गर्नका लागि गर्न नहुने पनि बताएका छन्।

ह्वाइट हाउसको विज्ञान तथा प्रविधि नीति कार्यालयका निर्देशक माइकल क्राट्सिओस ले सामाजिक सञ्जालमा लेख्दै उक्त स्मरणपत्रले एउटै आपूर्तिकर्तामाथिको निर्भरता कम गर्न विभिन्न कम्पनीका एआई प्रणालीहरूको प्रयोगलाई तीव्र बनाउने, स्वायत्त हतियार प्रणालीसम्बन्धी मार्गदर्शनलाई अद्यावधिक गर्ने तथा युद्धमा निर्भर गरिएका एआई प्रणालीहरूलाई पूर्वस्वीकृतिबिना निष्क्रिय वा कमजोर बनाउन नदिने व्यवस्था गरेको बताएका छन्।

यो स्मरणपत्र एआई कम्पनी एन्थ्रोपिक र अमेरिकी रक्षा मन्त्रालयबीचको विवादपछि आएको हो।

मार्चमा अमेरिकी रक्षा मन्त्रालयले एन्थ्रोपिकमाथि औपचारिक आपूर्ति–शृङ्खला जोखिमको दर्जा लगाएको थियो। कम्पनीले आफ्नो क्लोड एआईलाई स्वायत्त हतियार र व्यापक अमेरिकी निगरानीमा प्रयोग गर्न नदिने प्रतिबन्ध हटाउन अस्वीकार गरेपछि यस्तो कदम चालिएको थियो। रक्षा मन्त्रालयले अमेरिकी कानुनको पालना हुने अवस्था भए आवश्यकताअनुसार उक्त प्रविधि प्रयोग गर्न पाउनुपर्ने बताएको थियो।

यस प्रकारको दर्जा अमेरिकी प्रशासनबाट कुनै अमेरिकी प्रविधि कम्पनीमाथि गरिएको असाधारण आलोचनाका रूपमा हेरिएको छ। रोयटर्सका अनुसार अमेरिकी रक्षा मन्त्रालयले इरानसम्बन्धी सैन्य अभियानसहित विभिन्न सैन्य कार्यमा एन्थ्रोपिकको सहयोग लिँदै आएको छ।

एन्थ्रोपिकले उक्त स्मरणपत्र वा ट्रम्पले शुक्रबार घोषणा गरेको एआई क्षेत्रका प्रमुख कार्यकारीहरूसँग सम्भावित बैठकबारे टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।

प्रकाशित: २४ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार