
काठमाडौं ।
ओपनएआईकी पूर्व प्रमुख प्रविधि अधिकृत (सीटीओ) मिरा मुराती सार्वजनिक मञ्चमा धेरै देखिने व्यक्तित्व कहिल्यै थिइनन्। ओपनएआईमा रहँदा पनि उनी कम्पनीको प्रमुख सार्वजनिक अनुहारभन्दा पर्दापछाडि बढी सक्रिय थिइन्।
आफ्नै कम्पनी थिंकिङ मेसिन्स ल्याब स्थापना गरेपछि त उनी झन् कम सार्वजनिक रूपमा देखिएकी थिइन्। त्यसैले बिहीबार सान फ्रान्सिस्कोमा ब्लूमबर्गसँगको अन्तर्वार्ता, करिब १८ महिनायता उनको पहिलो प्रमुख मिडिया उपस्थितिका रूपमा हेरिएको छ।
थिंकिङ मेसिन्स ल्याबले विगत डेढ वर्षदेखि मुख्यतः सार्वजनिक चर्चाभन्दा बाहिर रहेर पूँजी संकलन, अनुसन्धानकर्ता भर्ती र ‘टिंकर’ नामक खुला स्रोत एआई मोडेललाई परिष्कृत गर्न मिल्ने एपीआई उत्पादन सार्वजनिक गर्ने काम गरिरहेको छ।
यसबीच एआई क्षेत्रमा प्रतिस्पर्धी कम्पनीहरूको उपस्थिति झन् बलियो बनेको छ। मुरातीले छ वर्ष बिताएको ओपनएआई निरन्तर समाचारमा छ भने एन्थ्रोपिकको तीव्र वृद्धिबारे पनि व्यापक चर्चा भइरहेको छ। इलन मस्कको एआई कम्पनी xAI पनि स्पेसएक्ससँग जोडिएपछि लगानीकर्ता र बजारको ध्यान आकर्षित गरिरहेको छ। यस्तो अवस्थामा लामो समयसम्म चुप लागेर बस्नुको प्रभाव घट्दै जाने भएकाले कम्पनीको उपस्थितिबारे बजारलाई सम्झाइरहन आवश्यक हुने विश्लेषण गरिएको छ।
टेकक्रञ्चका अनुसार ब्लूमबर्गसँगको कुराकानीमा मुरातीले थिंकिङ मेसिन्सले विकास गरिरहेको ‘इन्टरएक्सन मोडेल’ को झलक प्रस्तुत गरिन्। उनका अनुसार यो अहिलेका अधिकांश एआई प्रणालीभन्दा फरक प्रकारको इन्टरफेस हो। अहिलेका एआई प्रणालीहरू प्रश्न र उत्तरको ढाँचामा आधारित भए पनि कम्पनीले विकास गरिरहेको मोडेलले अडियो, पाठ र भिडियोको निरन्तर प्रवाहलाई २०० मिलिसेकेन्डको अन्तरालमा प्रशोधन गर्न सक्छ।
मुरातीका अनुसार यसले मानिसबीचको संवादका सूक्ष्म पक्षहरू, जस्तै कुरा काट्ने, बीचमै विचार सच्याउने वा केही क्षण सोचेर बोल्ने व्यवहारलाई वास्तविक समय नजिकबाट बुझ्न मद्दत गर्नेछ। यद्यपि उनले यसलाई प्रारम्भिक चरणको प्रयास मात्र भएको बताइन् र सार्वजनिक हुने मितिबारे कुनै जानकारी दिन अस्वीकार गरिन्।
अन्तर्वार्तामा सन् २०२३ नोभेम्बरमा ओपनएआईको सञ्चालक समितिले साम अल्टम्यानलाई पदबाट हटाएको र त्यसपछि आफू अन्तरिम प्रमुख कार्यकारी अधिकृत बनेको घटनाबारे पनि उनले टिप्पणी गरिन्। ओपनएआईभित्र उक्त घटनालाई ‘द ब्लिप’ भनेर चिनिने गरेको छ।
मुरातीले त्यसबेला आफ्नो निर्णयबारे आफू स्पष्ट रहेको र कम्पनीको उद्देश्य तथा टोलीको संरक्षण नै आफ्नो प्राथमिकता रहेको बताइन्। उनका अनुसार त्यो पाँच दिनको असामान्य अवधिमा आफू सक्रिय नभएको भए कम्पनी नै विघटनतर्फ जान सक्थ्यो। यद्यपि पछि फर्केर हेर्दा आफूले थप जानकारी, राम्रो संक्रमण योजना र बढी पारदर्शिताका लागि अझ जोड दिनुपर्ने महसुस गरेको उनले बताइन्।
पूर्व प्रमुख साम अल्टम्यानमाथि अझै विश्वास छ कि छैन भन्ने प्रश्नमा भने मुरातीले प्रत्यक्ष उत्तर दिइनन्। बरु उनले एआई उद्योगमा महत्वपूर्ण निर्णयहरू अत्यन्त थोरै व्यक्तिको हातमा केन्द्रित हुनु ठूलो समस्या भएको धारणा राखिन्। उनका अनुसार कुनै एक व्यक्तिको चरित्रभन्दा पनि संस्थागत नियन्त्रण र सुशासनको अभाव बढी चिन्ताको विषय हो।
थिंकिङ मेसिन्सबाट हालै केही चर्चित अनुसन्धानकर्ताहरू बाहिरिएको विषयमा पनि उनले प्रतिक्रिया दिइन्। नयाँ एआई अनुसन्धान संस्था निर्माण गर्ने क्रममा सामान्यतया वर्षौं लाग्ने संगठनात्मक उतारचढाव केही महिनामै देखिन सक्ने उनले बताइन्। एआई क्षेत्रमा प्रतिभा आकर्षित गर्न दिइने अत्यधिक पारिश्रमिकबारे चर्चा भए पनि त्यो मात्र कारण नभएको उनको भनाइ थियो।
एआईको भविष्य, रोजगारीमा यसको प्रभाव र रासायनिक हतियारजस्ता जोखिमपूर्ण प्रयोगबारे सोधिएको प्रश्नमा मुरातीले सन्तुलित धारणा व्यक्त गरिन्। उनले भविष्य अनिवार्य रूपमा भयावह वा पूर्ण रूपमा आदर्श हुने निश्चित नभएको बताउँदै अहिलेको समयले नै एआईको दिशा निर्धारण गर्ने उल्लेख गरिन्। उनका अनुसार मानिसहरूले समयभन्दा अगाडि नियन्त्रण छोडेमा भविष्य अहिलेको भन्दा निकै फरक हुन सक्छ, तर त्यो आवश्यक रूपमा राम्रो हुनेछ भन्ने सुनिश्चित छैन।
प्रकाशित: २४ जेष्ठ २०८३, आईतवार