नेपाल विद्युतीय व्यवसायी महासंघको “फिन इलेक्ट्रो–टेक २०२६” प्रदर्शनी हुँदै

  • Technology Khabar | २० जेष्ठ २०८३, बुधबार
नेपाल विद्युतीय व्यवसायी महासंघको “फिन इलेक्ट्रो–टेक २०२६” प्रदर्शनी हुँदै

काठमाडौं ।

नेपाल विद्युतीय व्यवसायी महासंघले “फिन इलेक्ट्रो–टेक २०२६” प्रदर्शनीको १२औं संस्करण आयोजना गर्ने भएको छ।

नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ “फिन इलेक्ट्रो–टेक २०२६” आगामी जेष्ठ २२ गतेदेखि २५ गतेसम्म (५–८ जुन २०२६) काठमाडौं स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्न लागिएको हो।

विगत तीन दशकभन्दा बढी समयदेखि आयोजित यो प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, परामर्शदाता, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्ताहरूलाई एउटै थलोमा ल्याई ज्ञान, प्रविधि र व्यवसायिक अवसरहरूको आदान–प्रदान गर्ने प्रभावकारी मञ्चको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणालीको विस्ता र विद्युत खपत अभिवृद्धि, विद्युतीय सवारीसाधनको प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखिएको वर्तमान राष्ट्रिय आवश्यकता अनुरूप “फिन इलेक्ट्रो–टेक २०२६” ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको छ।

हालै नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८ ३/८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।

प्रदर्शनीको उद्घाटन जेष्ठ २२ गते बिहान १० बजे  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने प्रदर्शनीमा २५ हजार आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेट ह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रीक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, स्टेण्डली, के नइन, ओरिएन्ट इलेक्ट्रिक, महालक्ष्मी, चिन्ट, एमजि गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइमवायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ। प्रदर्शनीले उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यावसायिक अवसरहरूको आदान–प्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीले स्वदेशी उत्पादक, अन्तर्राष्ट्रिय ब्राण्ड, वितरक, डिलर, प्राविधिक तथा उपभोक्ताहरूलाई एउटै मञ्चमा जोड्दै व्यवसायिक सहकार्य, प्रविधि हस्तान्तरण तथा नयाँ अवसरहरूको सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा विद्युतीय उपकरण तथा सामग्री, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिब समाधान, औद्योगिक स्वचालन (इन्डस्ट्रियल अटोमेसन), एलईडी, विद्युतीय सुरक्षा प्रणाली, सौर्य ऊर्जा तथा नवीकरणीय ऊर्जा प्रविधि, ई–मोबिलिटी तथा चार्जिब पूर्वाधार, सूचना प्रविधि, परीक्षण तथा मापन उपकरण तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शन गरिनेछ।

प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट (बी२बी मिटिङ्स), उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्रहरू सञ्चालन गरिनेछन्। उद्योगी–व्यवसायी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, निर्माण व्यवसायी, परामर्शदाता, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले नवीनतम प्रविधि तथा अन्तर्राष्ट्रिय अनुभवबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।

प्रदर्शनीमा प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ। तथापि आगन्तुकहरूले अनिवार्य रूपमा क्यूआर कोड वा उपलब्ध डिजिटल लिङ्क मार्फत पूर्व दर्ता गर्नु पर्ने व्यवस्था गरिएको छ।

विद्यार्थी, अनुसन्धानकर्ता, प्राविधिक जनशक्ति तथा आम नागरिकहरूले आधुनिक विद्युतीय तथा ऊर्जा प्रविधिहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्।

यो प्रदर्शनीले केवल व्यापारिक गतिविधिलाई मात्र प्रोत्साहन नगरी ज्ञान, प्रविधि, नवप्रवर्तन तथा व्यवसायिक सहकार्यको साझा उत्सवका रूपमा समेत भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

प्रकाशित: २० जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...