मोबाइल नम्बर परिवर्तन गर्दा वित्तीय सेवा प्रदायकलाई जानकारी गराउन नेपाल राष्ट्र बैंकको आग्रह

  • Technology Khabar | १९ जेष्ठ २०८३, मंगलवार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनामूलक सन्देश जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भुक्तानी सेवा प्रदायकका वालेटजस्ता सेवाहरू प्रयोगकर्ताको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने भएकाले यस्ता विवरण परिवर्तन हुँदा सम्बन्धित संस्थालाई जानकारी गराउनुपर्ने जनाएको हो।

राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा मोबाइल नम्बर परिवर्तन भएको अवस्थामा त्यसबारे सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नगराउँदा खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ।

त्यसैले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि सुझाव दिएको छ। वित्तीय ग्राहकसँग सम्बन्धित गुनासो भएमा नेपाल राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल www.gunaso.nrb.org.np मार्फत दर्ता गर्न सकिने जनाइएको छ। साथै वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१–५७१९६०५ मा समेत सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार