
काठमाडौं ।
म्यानमारको वाणिज्य मन्त्रालयले पुराना र काम नलाग्ने सवारी साधनका मालिकलाई आयातित विद्युतीय सवारी साधन (इभी) ले प्रतिस्थापन गर्न अनुमति दिने नयाँ कार्यक्रम घोषणा गरेको छ।
मे २८ को सूचनामा मन्त्रालयले यो कार्यक्रम इन्धनको खपत घटाउने, सडक सुरक्षामा सुधार गर्ने र वातावरणीय प्रदूषण घटाउने प्रयासको हिस्सा भएको बताएको छ।
यो कार्यक्रम उत्पादनको वर्षदेखि २० वर्षभन्दा पुराना सवारी साधन, सुरक्षित ड्राइभिङ सुनिश्चित गर्न मर्मत गर्न नसकिने सवारी साधन र २० वर्षभन्दा कम पुराना सवारी साधनहरूमा लागू हुनेछ । यस्ता पूराना सवारी साधनको स्वामित्व भएका मालिकहरूले स्वेच्छाले उनीहरूलाई प्रतिस्थापन गर्न सक्नेछन् ।
कार्यक्रम अन्तर्गत सडक यातायात प्रशासन विभागले जारी गरेको सवारी दर्ता प्रमाणपत्र फारम पेश गर्ने मालिकहरूले प्रतिस्थापनका लागि बुझाइएको गाडीको प्रकार र मूल्यको आधारमा एक उपयुक्त इभीको आयातको लागि आवेदन दिन योग्य हुनेछन्।
अनुमोदन प्रक्रियालाई विद्युतीय सवारी र सम्बन्धित उद्योगहरूको विकासका लागि राष्ट्रिय स्तरको अग्रणी समितिले समीक्षा गर्ने रिपोर्टमा बताइएको छ।
यसका साथै विद्युतीय सवारी साधनको आयातका लागि आवश्यक विदेशी मुद्रा म्यानमारको केन्द्रीय बैङ्कले उचित विनिमय दरमा बेच्नेछ। रासस/सिन्ह्वा
प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार