
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिप्राप्त सेवा प्रदायकमार्फत् उपलब्ध गराएको डाटा/इन्टरनेट सेवा २०८२ फागुनसम्म ४ करोड २४ लाख ८९ हजार प्रयोगकर्ताले प्रयोग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणअनुसार, फागुन मसान्तसम्म यसमध्ये नेपाल टेलिकमको १ करोड ६९ लाख ८२ हजार, एनसेलको १ करोड २१ लाख ३४ हजार तथा इन्टरनेट सेवा प्रदायकहरुको १ करोड ३४ लाख ६३ हजार ग्राहक रहेका छन्।
यसैगरी उक्त अवधिसम्म इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ। यस्तो घनत्व २०८२ असारसम्म १३९.५ प्रतिशत रहेको थियो। फोरजी सेवाको पहुँच ८९.६ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने १५० सरकारी निकायका वेबसाइट सञ्चालनमा आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रतिवेदन अनुसार एस.एम.एस. प्रणालीमार्फत् २०८२ असारसम्म १२५ निकायद्वारा ४ करोड २७ लाख ९ हजार पटक एस. एम. एस. प्रवाह भएको छ।
विभिन्न ८० सरकारी निकायका एक सय सूचना प्रणालीको सुरक्षा लेखापरीक्षण सम्पन्न भएको छ भने राष्ट्रिय एआई नीति , २०८२ तर्जुमा भई कार्यान्वयनमा रहेको छ। साथै नागरिक एप ( सञ्चालन तथा व्यवस्थापन दिग्दर्शन, २०८२ कार्यान्वयनमा आएको छ।
साझा पूर्वाधारमार्फत सरकारी निकायलाई कम लागतमा तुरुन्त सर्भर, स्टोरेज र नेटवर्क उपलब्ध गराउँदै आएको सरकारी क्लाउडमा २०८२ फागुनसम्म ३४५ सरकारी निकायका सूचना प्रविधि प्रणाली सञ्चालन (होस्ट गर्न स्रोत उपलब्ध भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार