
काठमाडौं ।
लुम्बिनी प्रदेशमै पहिलो पटक शुक्रबार रुपन्देहीमा ‘सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ।
युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले सीप च्याम्पियनसिप आयोजना गरिएको हो।
लुम्बिनी प्रदेशभका १२ जिल्लाका करिब एक हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्तालाई सरोकारवाला निकायसँग एकै ठाउँमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो।
रुपन्देही उद्योग सङ्घको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तममा आज आयोजित लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आइटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो । स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगले आफ्नो प्रदर्शनी गरेका थिए ।
दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको यो कार्यक्रमलाई सञ्चालनका लागि रुपन्देही उद्योग सङ्घलाई इन्स्योर परियोजनाले साथ दिएको थियो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिलसिनाले उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै सीप विकास संस्कृतिको प्रवद्र्धन गर्नु सीपसँगै रोजगारका क्षेत्रमा प्रभावकारी हुने बताए। उनले सरकार, रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याउनु तथा प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमलाई प्रदेश सरकारले पनि साथ दिएको बताए।
यस्तै सीपयुक्त जनशक्तिको माग र आपूर्तिबिचको दूरी कम गर्दै उद्योग र शिक्षालयबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने, युवालाई वृत्ति परामर्श, प्राविधिक शिक्षा तथा रोजगारीका अवसरबारे जानकारी प्रदान गर्नु निजी क्षेत्रको पनि दायित्व रहेको बताउँदै उनले अब सरकारले यसमा आधारिक कार्यक्रम र बजेट बनाउने प्रतिवद्धता जनाए।
रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए।
उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबिच असन्तुलनको अवस्था रहेको भन्दै यसबाट रोजगारदाता तथा रोजगारी खोजिरहेका युवाबिच प्रभावकारी समन्वयको आवश्यकता अझ बढी महसुस गरी यस किसिमको कार्यक्रम आयोजना गरिएको र सरकोकारवाला निकाय, उद्योगी तथा विभिन्न प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालयबाट विद्यार्थी सहभागी गराइएको उनले बताए।
उनले नयाँ पुस्तालाई प्रविधिमैत्री बनाउन यो परियोजनाले सीपमूलक शिक्षामा लगानी गरेको पढ्दै काम गर्दै अघि बढाइएकोले निकै प्रभावकारी भएको बताए।
इन्स्योर प्रदेश प्रमुख अम्बिकाप्रसाद तिमिल्सिनाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै प्राविधिक शिक्षातर्फ नयाँ पुस्तालाई जानकारी दिने र निजी क्षेत्रलाई यसबारे अग्रसरता बनाउने मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास एकाइ तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिएको थियो भने उद्योगीले आफूलाई आवश्यक कामदारको संख्या र सेवासुविधासहितको जानकारीसहित राखेका थिए। यो कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको ठूलो सहभागिता रहेको थियो।
शुभारम्भ कार्यक्रममा क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले विद्यार्थी र निजी क्षेत्रसँगै राखेर कार्यक्रम गर्दा धेरै प्रभावकारी भएको बताए।
रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष दिनेशराज रेग्मीले जबसम्म प्राविधिक सीपमा दक्षता हुँदैन तबसम्म देश विकास सम्भव हुँदैन भन्दै उद्योग व्यवसाय प्रवद्र्वनका लागि प्राविधिक सिप जरूरी रहेको बताए। रासस
प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार