नयाँ सार्वजनिक सवारी साधन दर्ता प्रक्रिया तत्कालका लागि रोक्का, यातायात व्यवस्था विभागले गर्यो सातै प्रदेशलाई आग्रहसहितको परिपत्र

  • Technology Khabar | ८ जेष्ठ २०८३, शुक्रबार
नयाँ सार्वजनिक सवारी साधन दर्ता प्रक्रिया तत्कालका लागि रोक्का, यातायात व्यवस्था विभागले गर्यो सातै प्रदेशलाई आग्रहसहितको परिपत्र

काठमाडौं ।

सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। हालै यातायात व्यवस्था विभागले सातै प्रदेश र देशभरका सम्पूर्ण स्थानीय तहहरूलाई गरेको परिपत्र गर्दै यसबारे जानकारी दिएको हो।

परिपत्रमा विभागले सातै प्रदेशका मन्त्रालयहरू र सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन आग्रह गरेको छ।

यस अनुसारअर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक यातायातको रूपमा नयाँ सवारी साधन दर्ता गर्न नमिल्ने स्पष्ट भएको हो।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्याधिक वायू प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाई उत्पन्न भएको साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी तथा यातायातमा पर्न गएको असहजता र कठिनाईको सम्बोधन गर्न सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्नुपर्ने  भएकाले यो कदम चालिएको देखिन्छ।

“सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्का गर्न मनासिव देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई त्यस्तो सवारीको दर्ता रोक्का गर्न आदेश दिन सक्ने ” व्यवस्था रहेको छ।

‘सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरे सम्म तत्कालका लागि ऐ. ऐनको दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएकाले तहाँ मन्त्रालय अन्तर्गतका कार्यालय/पालिकाबाट गरिने सार्वजनिक सवारी साधनहरुको (इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेत) नयाँ दर्ता रोक्का गरिदिनुहुन निर्णयानुसार व्यहोरा अनुरोध छ’, पत्रमा उल्लेख छ।

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार