ललितपुरमा भवन सूचना मोडलिङ तालिम

  • Technology Khabar | ७ जेष्ठ २०८३, बिहीबार
ललितपुरमा भवन सूचना मोडलिङ तालिम

काठमाडौं ।

‘भवन सूचना मोडलिङ’ (बिआइएम) सम्बन्धी चारदिने आधारभूत तालिम ललितपुरमा आजदेखि सुरु भएको छ। स्ट्रक्चरल इञ्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा सो तालिम सुरु भएको हो।

तालिमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले स्ट्रक्चरल, मेकानिकल, अर्किटेक्चर इञ्जिनियरलाई एकअर्काबीच कसरी अन्तर आबद्धता गराउने भन्ने विषयमा सुरुमै पहिचान गरेर संरचनाको डिजाइनमा यस्ता तालिमले निष्कर्ष दिने बताए।

“तालिमका माध्यमबााट प्राविधिक कमजोरीलाई परिवर्तन गर्न ध्यान दिनु आवश्यक हुन्छ, प्राविधिक सीपको दक्षता विकासका लागि यस्ता तालिम र कार्यशाला अत्यन्तै प्रभावकारी हुन्छन्। नयाँ प्रविधिअनुसार संरचनालाई कसरी डिजाइन गर्ने, आकर्षक र प्रभावकारी बनाउनेबारे तालिम प्रभावकारी हुनेछ”, उनले भने।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख प्रकाण्ड तुलाधरले विआइमले पारित गरेको संरचना निर्माण परियोजना हुने व्यवस्था हुन सके राम्रो हुने धारणा राखे।

हिमालय कलेज अफ इञ्जिनियरिङका निर्देशक किशोर गौतमले इञ्जिनियरिङ विषयमा पढाइ हुने कलेजमा यस्तो तालिमको व्यवस्था हुँदा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। उनले पेशागत दक्षता अभिवृद्धिका लागि यस्ता कार्यशाला र इञ्जिनियरिङ क्षेत्रको तालिमलाई कलेजले सधैँ प्राथमिकता दिने बताए।

संस्थाका अध्यक्ष कृष्णसिंह बस्नेतले इञ्जिनियरिङ सोसाइटीलाई प्रभावकारी बनाउँदै लैजाने सोच रहेको जानकारी गराउँदै पुराना इञ्जिनियरले काम गर्दाको अनुभवलाई प्रभावकारी बनाउनुका साथै संरचनात्मक ढाँचामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।

स्ट्रक्चरल इञ्जिनियर्स एशोसिएशन नेपालका पूर्वअध्यक्ष सञ्जीव शाहले सन् २००२ मा स्थापना हुँदा सफ्टवेयरसँगको प्रतिस्पर्धा कम थियोे भन्दै अहिले प्रविधिको उपयोग अत्यधिक हुने भएकाले इञ्जिनियरहरुलाई दक्षता र क्षमता अभिवृद्धिका लागि प्रभावकारी तालिम आवश्यक रहेको बताए।

कार्यक्रममा डा हरिलोचन श्रेष्ठ, संस्थाका संस्थापक महेश कार्की,  संस्थाका सहसचिव डा भरत प्रधानलगायतले सहभागीलाई फरक समूहमा अभ्यास गराउने सो तालिम तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे।-रासस

प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...