
काठमाडौं ।
चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना गरिएको छ। इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सको विद्यार्थी शाखाले विद्यार्थीहरूको करियर विकास र उद्योग सम्बन्धी बुझाइलाई मजबुत बनाउने उद्देश्यले विशेष करियर सशक्तिकरण सत्र आयोजना गरेको हो।
“ब्रिज द ग्याप: क्याम्पसदेखि करियरसम्म” शीर्षकमा आयोजित कार्यक्रममा भविष्यका प्रविधि नेतृत्वकर्ताहरूलाई कर्पोरेट क्षेत्रका अपेक्षा, तयारी प्रक्रिया तथा व्यावसायिक यात्राबारे महत्वपूर्ण जानकारी दिइयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पिपुल एण्ड कल्चरकी निर्देशक वर्षा विष्टले उद्योगका अपेक्षा करियर विकासका अवसरहरू तथा कलेज जीवनबाट कर्पोरेट जीवनतर्फको सहज संक्रमणका विषयमा जानकारी दिइन्।
उनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कार्यसंस्कृति, भर्ती प्रक्रिया तथा करियर निर्माणका व्यावहारिक पक्षबारे अनुभव साझा गरेकी थिइन्।
आयोजकहरूले विद्यार्थीहरूलाई यो सत्रले अध्ययनदेखि पेशागत जीवनसम्मको यात्रा बुझ्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले विद्यार्थीहरूकाे सिकाइसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले समयसमयमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेको कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए।
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार