
काठमाडौं ।
नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेकपाइला इनोभेसनले विश्वविख्यात एनसीसी एजुकेशन यूकेसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ।
यस ऐतिहासिक साझेदारी मार्फत अब कक्षा ११ र १२ का नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डाटा साइन्सका कोर्सहरू पढ्न पाउनेछन्।
हालै आयोजित एक विशेष प्रडक्ट लन्चिङ कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर एवं प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले “डिजिटल नेपालको जग: सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा” विषयमा आफ्नो मुख्य सम्बोधन राख्दै यो अभियान नेपालको प्रविधि मानचित्रमा एउटा कोशेढुङ्गा सावित हुने दावी गरे।
सम्बोधनका क्रममा अधिकारीले नेपालको आईटी क्षेत्र वार्षिक २०–२५ प्रतिशतले वृद्धि भइरहे तापनि ७० प्रतिशत कम्पनीहरूले प्रमाणित जनशक्ति नपाएको तथ्याङ्क प्रस्तुत गरे।
“हाम्रा विद्यार्थीहरू डिजिटल संसारमा रमाउँछन्, तर ५ प्रतिशतसँग पनि औपचारिक साइबर सुरक्षाको ज्ञान छैन। यो ‘स्किल ग्याप’ लाई पुर्नु अब हाम्रो रहर होइन, राष्ट्रिय बाध्यता हो। साइबर सुरक्षा, एआई र डाटा साइन्स अब ऐच्छिक होइनन्, यी २१ औं शताब्दीका अनिवार्य बाँच्ने सीपहरू हुन्,” अधिकारीले भने।
टेकपाइलाले एनसीसी एजुकेशन यूकेसँगको सहकार्यमा विश्वका ५० भन्दा बढी देशमा मान्यता प्राप्त निम्न तीन कोर्सहरू सुरु गरेको छ:
साइबर सुरक्षा: डिजिटल आक्रमणबाट बच्न र सुरक्षित पूर्वाधार निर्माण गर्न।
आर्टिफिसियल इन्टेलिजेन्स: भविष्यको ‘एआई इकोनोमी’ मा नेतृत्वदायी भूमिका निभाउन।
डाटा साइन्स: सूचनालाई ज्ञानमा बदल्न र सही निर्णय लिन सक्ने क्षमता विकास गर्न।
शैक्षिक संस्थाहरूका लागि ‘शून्य लगानी’ मोडल
टेकपाइलाले विद्यालय र कलेजहरूका लागि कुनै थप वित्तीय भार नपर्ने गरी ‘ शून्य लगानी ‘ मोडल ल्याएको छ। यस अन्तर्गत कम्पनीले नै प्रमाणित प्रशिक्षकहरू र अत्याधुनिक एलएमएस (लर्निङ म्यानेजमेन्ट सिस्टम) उपलब्ध गराउनेछ।
जसले गर्दा बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने छैन। यी प्रमाणपत्रहरूले विदेशमा उच्च शिक्षाका लागि (बेलायत, अमेरिका र अष्ट्रेलियाका ७० भन्दा बढी विश्वविद्यालयमा भर्ना र ‘क्रेडिट माइलेज’) बाटो खोल्नेछ।
कार्यक्रमका मुख्य अतिथि एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। अध्यक्ष मल्लले विगत तीन वर्षभित्रमा नेपालको आईटी र एआई सर्भिस व्यवसाय दोब्बर भएको जानकारी दिनुभयो। सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबरको रहेको यो क्षेत्र अहिले १ सय ४० अर्ब पुगेको उनले बताए।
“यो क्षेत्र नेपालको जलविद्युत भन्दा पनि छिटो आम्दानी गर्न सकिने क्षेत्र हो,” अध्यक्ष मल्लले भने, “हाम्रो मुलुकमा रहेको युवा शक्तिलाई हिडेर विदेश जान नदिने र विदेश गए पनि सस्तोमा श्रम बेच्नुपर्ने अवस्थालाई यो शिक्षाले रोक्नेछ।” उनले यो शिक्षा शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि पुर्याउन आग्रह गरे।
नेपाल टेलिकमका म्यानेजर डा. शालिग्राम पराजुलीले राज्यले नीति, पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा लैजानुपर्ने बताए। नयाँ पुस्ताको मुख्य माग रोजगारी, सुशासन र समृद्धि भएकाले ती सबै लक्ष्यलाई आईटी र एआई टूल्स मार्फत छिटो सम्बोधन गर्न सकिने उनको भनाइ थियो।
हिसानका महासचिव रामहरि सिलवालले पनि टेकपाइला इनोभेसनको यस ‘स्किलिङ, रि-स्किलिङ र अप-स्किलिङ ‘ महाअभियान र हिसानसँगको सहकार्यको प्रशंसा गर्दै युवाहरूलाई प्रविधिको उपभोक्ता मात्र नभएर सर्जक बनाउन यो कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे।
डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले टेकपाइला इनोभेसनले विश्वस्तरीय आईटी सेवा तथा उत्पादनहरू विकास गरेर नेपाली प्रविधिलाई विश्व मानचित्रमा पुर्याउन महत्त्वपूर्ण जग बसालेको बताए।
उनले टेकपाइलाको यो नवीनतम पहलले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँदै नेपाललाई विश्वकै एक अग्रणी प्रविधि केन्द्रका रूपमा स्थापित गर्न कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित: ३ जेष्ठ २०८३, आईतवार