
काठमाडौं ।
दक्षिण कोरियाले सामसङ इलेक्ट्रोनिक्समा हुन सक्ने श्रमिक हड्ताल रोक्न आपत्कालीन मध्यस्थतासहित सबै विकल्प अपनाउने र हड्ताल भए पनि त्यसबाट हुने क्षति न्यून पार्ने प्रयास गर्ने जनाएको छ। देशका प्रधानमन्त्रीले आइतबार यस्तो बताएका हुन्।
विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप निर्माता सामसङ इलेक्ट्रोनिक्स र यसको दक्षिण कोरियाली श्रमिक युनियनले सोमबार सरकारी मध्यस्थकर्ताको उपस्थितिमा तलबसम्बन्धी वार्ता पुनः सुरु गर्ने भएका छन्। यसले देशको कुल निर्यातको करिब एक चौथाइ हिस्सा ओगट्ने प्रविधि कम्पनीमा हुन सक्ने अवरोधपूर्ण हड्तालबारेको चिन्ता कम गर्न सक्ने अपेक्षा गरिएको छ।
“सामसङ इलेक्ट्रोनिक्सको सेमिकन्डक्टर कारखानामा एक दिन मात्रै काम रोकिँदा पनि प्रत्यक्ष रूपमा १ ट्रिलियन वन (६६७.६८ मिलियन डलर) बराबरको नोक्सानी हुने अनुमान गरिएको छ,” प्रधानमन्त्री किम मिन-सेओकले आइतबार मन्त्रीहरूसँगको आपत्कालीन बैठकपछि भने।
“अझ चिन्ताको विषय के हो भने, सेमिकन्डक्टर उत्पादन लाइन केही समयका लागि रोकिनासाथ महिनौंसम्म निष्क्रिय रहन सक्छ,” उनले भने। हड्तालका कारण सामग्री फाल्नुपर्ने अवस्था आए आर्थिक क्षति १०० ट्रिलियन वनसम्म पुग्न सक्ने चिन्ता रहेको पनि उनले बताए।
यदि कुनै श्रम विवादले अर्थतन्त्र वा दैनिक जीवनमा असर पार्ने सम्भावना रहेको ठहर गरिए श्रममन्त्रीले आपत्कालीन मध्यस्थताको आदेश जारी गर्न सक्छन्। यस्तो आदेश जारी भएपछि राष्ट्रिय श्रम सम्बन्ध आयोगले मध्यस्थता र समाधान प्रक्रिया सञ्चालन गर्ने ३० दिनसम्म कुनै पनि औद्योगिक आन्दोलन गर्न पाइँदैन।
टेकक्रञ्चका अनुसार यस्तो कदम विरलै मात्र प्रयोग गरिएको छ र श्रमिकमैत्री सरकारका लागि यो असाधारण कदम हुने बताइएको छ। युनियनले व्यवस्थापनसँग सहमतिमा पुग्न इमान्दारीपूर्वक वार्ता गर्ने जनाएको छ।
प्रधानमन्त्री किमका अनुसार सामसङले दक्षिण कोरियाको कुल निर्यातको २२.८ प्रतिशत र घरेलु सेयर बजारको २६ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीमा १ लाख २० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् भने १,७०० आपूर्तिकर्तासँग सहकार्य भइरहेको छ।
प्रकाशित: ३ जेष्ठ २०८३, आईतवार