आफ्नो नाम दुरुपयोग गर्दै धम्की र दबाब दिनेमाथि कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन

  • Technology Khabar | ३ जेष्ठ २०८३, आईतवार
आफ्नो नाम दुरुपयोग गर्दै धम्की र दबाब दिनेमाथि कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिने र दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

कार्यालयले हालै एक प्रेस जारी गर्दै यसबारे जानकारी गराएको हो। विज्ञप्तिअनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोनमार्फत अभद्र भाषा प्रयोग गर्दै धम्की दिएको अडियो रेकर्ड सार्वजनिक भएको थियो।

विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रयोग गर्ने तथा धम्क्याउने गतिविधि निन्दनीय र असक्षम्य भएको बताइएको छ।

उक्त घटना सार्वजनिक भएपछि कार्यालयले कानुनी कारबाहीका लागि निर्देशन दिँदै सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ।

कार्यालयले प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर फोन, भेटघाट वा अन्य माध्यमबाट धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने कार्य नगर्न सबैलाई आग्रह गरेको छ। यस्ता गतिविधि भएमा नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल जानकारी गराउन पनि अपिल गरिएको छ।

साथै आगामी दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरिएको छ।

प्रकाशित: ३ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार