मेटाद्वारा एआई योजना विस्तार गर्न ब्रोडकमसँगको कस्टम चिप सम्झौता विस्तार

  • Technology Khabar | ४ बैशाख २०८३, शुक्रबार
मेटाद्वारा एआई योजना विस्तार गर्न ब्रोडकमसँगको कस्टम चिप सम्झौता विस्तार
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

मेटाले आफ्नो एआई योजना विस्तार गर्न ब्रोडकमसँगको कस्टम चिप सम्झौता विस्तार गरेको छ।

मेटाले आफ्ना एपहरूमा एआई सुविधा सञ्चालन गर्न आवश्यक कम्प्युटिङ क्षमता बढाउने लक्ष्यसहित ब्रोडकमसँग मिलेर विभिन्न पुस्ताका कस्टम एआई प्रोसेसर बनाउनेछ।

मंगलबार गरिएको घोषणाअनुसार यो सहकार्य सन् २०२९ सम्म विस्तार गरिएको छ। प्रारम्भमा एक गिगावाटभन्दा बढी कम्प्युटिङ क्षमता निर्माण गर्ने योजना छ जुन औसतमा अमेरिकाका करिब ७ लाख ५० हजार घरमा प्रयोग हुने बिजुली बराबर मानिन्छ।

सम्झौताअनुसार ब्रोडकमका सीईओ हक टान मेटाको बोर्डबाट बाहिरिनेछन् र कस्टम चिप रणनीतिमा सल्लाहकारको भूमिका निभाउनेछन्, कम्पनीहरूले संयुक्त विज्ञप्तिमा जनाएका छन्।

रोयटर्सका अनुसार एआईका कारण कम्प्युटिङ माग तीव्र रूपमा बढिरहेका बेला मेटा, गुगल र अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरूले महँगो प्रोसेसरमा निर्भरता घटाउन आफ्नै चिप डिजाइन गर्न थालेका छन्।

यसै प्रवृत्तिले ब्रोडकमलाई जेनेरेटिभ एआईबाट लाभ उठाउने प्रमुख कम्पनीमध्ये एक बनाएको छ। कम्पनीले आफ्ना ग्राहकसँग मिलेर कस्टम प्रोसेसर विकास गर्छ र आवश्यक पूर्वाधार सफ्टवेयर पनि उपलब्ध गराउँछ। ब्रोडकमको शेयर कारोबारपछि ३.५ प्रतिशतले बढेको छ भने मेटाको शेयरमा खासै परिवर्तन आएको छैन।

मेटाका सीईओ मार्क जुकरबर्गले भने, “यो सहकार्यले अरबौं मानिसलाई व्यक्तिगत सुपरइंटेलिजेन्स उपलब्ध गराउन आवश्यक ठूलो कम्प्युटिङ आधार निर्माण गर्न मद्दत गर्छ।”

कम्पनीले गत महिना चार नयाँ चिपको योजना सार्वजनिक गरेको थियो र ब्रोडकम सँगको प्रारम्भिक सहकार्यलाई दीर्घकालीन बहु–गिगावाट विस्तारको पहिलो चरण भनेको छ। ब्रोडकमको इथरनेट नेटवर्किङ प्रविधि पनि मेटाका तीव्र रूपमा विस्तार भइरहेका एआई कम्प्युटर क्लस्टरहरू जोड्न प्रयोग गरिनेछ।

मेटाको एमटीआईए (मेटा ट्रेनिङ एण्ड इन्फरेन्स एक्सलरेटर) कार्यक्रमअन्तर्गत बनेको पहिलो चिप एमटीआईए ३०० अहिले नै कम्पनीको र्याङ्किङ र सिफारिस प्रणालीमा प्रयोग भइरहेको छ।

सन् २०२७ सम्म थप तीन चिप ल्याउने योजना छ जसले विशेषगरी इनफरेन्स अर्थात् प्रयोगकर्ताको प्रश्नमा एआईले दिने उत्तर प्रक्रियामा काम गर्नेछन्। यसैबीच मेटाले सन् २०२० देखि बोर्डमा रहेकी ट्रेसी ट्राभिस आगामी वार्षिक सेयरधनी बैठकमा पुनः चयनका लागि नउभिने जानकारी दिएको छ।

प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...