
काठमाडौं ।
अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले १९ घण्टाको अन्तरमा दुईवटा स्टारलिङ्क स्याटेलाइट समूह प्रक्षेपण गरेको छ।
दुवै फाल्कन ९ मिसन स्थानीय समयअनुसार मंगलबार (अप्रिल १४) फ्लोरिडा र त्यसपछि क्यालिफोर्नियाबाट प्रक्षेपण गरिएका थिए। प्रत्येक प्रक्षेपणपछि करिब एक घण्टामा रकेटको माथिल्लो चरणले स्याटेलाइटहरू अलग गर्दै तिनलाई स्पेसएक्सको लो अर्थ अर्बिट नेटवर्कमा पठाएको थियो।
स्पेस डटकमका अनुसार दुवै मिसनमा प्रयोग भएका फमल्कन ९ का पहिलो चरण (बुस्टर) पुनः पृथ्वीमा फर्किएका छन्। बूस्टर बी१०८० ले आफ्नो २६औँ उडान पूरा गर्दै एटलान्टिक महासागरस्थित “जस्ट रिड द इन्स्ट्रक्शन्स” ड्रोनशिपमा अवतरण गरेको थियो। त्यसपछि बूस्टर बी१०८२ ले “अफकोर्स आई स्टिल लभ यू” ड्रोनशिपमा अवतरण गर्दै २१औँ पटक पुनः प्रयोगको रेकर्ड बनाएको छ।
ट्र्याकर जोनाथन म्याकडावलका अनुसार यी दुई प्रक्षेपणपछि स्पेसएक्सको स्टारलिङ्क सञ्जालमा १० हजार २ सय भन्दा बढी स्याटेलाइट पुगेका छन्।
क्यालिफोर्नियाको भ्याण्डेनबर्गबाट गरिएको प्रक्षेपण यस वर्षको स्पेसएक्सको ४६औँ प्रक्षेपण हो भने सन् २०१० देखि फाल्कन ९ का कुल ६२९ मिसन पूरा भएका स्पेस डटकमले उल्लेख गरेको छ। स्पेसएक्सले सो दिन बिहान र साँझ दुवै समयमा स्टारलिङ्क प्रक्षेपण गर्दै दिनको सुरुवात र अन्त्य नै स्याटेलाइट प्रक्षेपणबाट गरेको थियो।
पहिलो प्रक्षेपण फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनस्थित स्पेस लञ्च कम्प्लेक्स ४० बाट बिहान ५:२३ बजे (ईडीटी) २९ वटा स्टारलिङ्क स्याटेलाइट (समूह १०-२४) पठाइएको थियो।
त्यसपछि करिब १९ घण्टापछि क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसस्थित स्पेस लञ्च कम्प्लेक्स ४ इस्टबाट राति ९:२९ बजे (पीडीटी) थप २५ वटा स्टारलिङ्क स्याटेलाइट (समूह १७-२७) प्रक्षेपण गरिएको थियो। यी दुवै प्रक्षेपण सफल भएको स्पेसएक्सले जनाएको छ।
प्रकाशित: ३ बैशाख २०८३, बिहीबार