
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले कार्यालय आउँदाजाँदा आलोपालो गाडी चलाउने ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।
इन्धन कटौतीपछि कामपाले उपलब्ध गराएको सवारीसाधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन। इन्धन अभावबाट सिर्जना हुनसक्ने अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्ता निर्णय गरिएको उनको भनाइ छ।
डङ्गोलले भनिन, “अहिले विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुनसक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ।”
कामपाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ। ‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ। यस समूहमा हुनेले आफूसँग भएको सवारीसाधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ।
यसो गर्दा कार्यालयमा आउने जाने सवारीसाधनको सङ्ख्या र इन्धनको प्रयोग घट्ने प्रमुख डङ्गोलको भनाइ छ। रासस
प्रकाशित: २ बैशाख २०८३, बुधबार