सामाजिक सञ्जालमार्फत आफू विरुद्ध दुष्प्रचार गरिएको भन्दै सांसद खुस्बु ओलीद्वारा साइबर उजुरी

  • Technology Khabar | ३० चैत्र २०८२, सोमबार
सामाजिक सञ्जालमार्फत आफू विरुद्ध दुष्प्रचार गरिएको भन्दै सांसद खुस्बु ओलीद्वारा साइबर उजुरी

काठमाडौं ।

राप्रपा सांसद खुस्बु ओलीले आफू विरुद्ध सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा फैलाइएको दुष्प्रचार, भ्रामक सूचना तथा मेरो चरित्रहत्या गर्ने कार्य गरिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएकी छन्।

उनले उक्त उजुरीमा केही व्यक्तिका फेसबुक पेज, टिकटक पेज तथा युट्युब च्यानलहरूले योजनाबद्ध ढंगले आधारहीन, भ्रामक तथा व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्याउने उद्देश्यले सामग्री प्रसारण गरेको उल्लेख गरेको जानकारी दिएकी छन्।

“यस विषयमा मैले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको पनि थिएँ। तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ।,” उनले सामाजिक सञ्जाल एक्समा लेखिन्, “यस्ता गतिविधिहरू सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने, बरु योजनाबद्ध रूपमा गलत सूचना फैलाउने तथा मेरो व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको मेरो ठहर छ। म स्पष्ट रूपमा भन्न चाहन्छु: साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रिया अनुसार आवश्यक सबै कदम म निरन्तर रूपमा अघि बढाउनेछु।”

उनले कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर त्यसैबाट लाभ कमाउने प्रवृत्ति केवल अनैतिक मात्र नभई, अत्यन्तै पतित र अस्वीकार्य सोचको परिचायक भएको भन्दै लेखिन, “यस्तो मानसिकता समाजका लागि खतरा हो, र यसलाई कुनै हालतमा सामान्यीकरण गर्न मिल्दैन।”

प्रकाशित: ३० चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार