
काठमाडौं ।
चीनको प्रिन्टेड सर्किट बोर्ड पीसीबी उत्पादक कम्पनी भिक्ट्री जायण्टले सोमबार हङकङमा सेयर बिक्री सुरु गर्दै करिब १७.४९ अर्ब हङकङ डलर (२.२३ अर्ब डलर) सम्म रकम उठाउने लक्ष्य राखेको छ।
मध्यपूर्व तनावका कारण विश्व बजारमा अस्थिरता भइरहेका बेला पनि यो सम्झौता यस वर्षका ठूला सूचीकृतमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।
शेन्जेनमा सूचीकृत कम्पनीले अधिकतम २०९.८८ हङकङ डलर मूल्यमा ८ करोड ३३ लाख ५० हजार H सेयर प्रस्ताव गरेको छ। प्रोसपेक्टस अनुसार, यी सेयरहरू अप्रिल २१ देखि हङकङमा कारोबार सुरु हुनेछन्।
ओभरअलटमेन्ट र आकार समायोजन विकल्पहरू (प्रत्येक १५ प्रतिशत सम्म) प्रयोग भएमा सम्झौताको आकार अझ बढ्न सक्नेछ। अन्तिम मूल्य अप्रिल १७ सम्म तय गरिनेछ।
सन् २००६ मा स्थापना भएको कम्पनीले कृत्रिम बुद्धिमत्ता एक्सेलेरेटर कार्ड, सर्भर, एआई सर्भर, डेटा सेन्टर स्विच र अप्टिकल मोड्युलमा प्रयोग हुने उन्नत पीसीबी उत्पादन गर्छ।
फ्रस्ट एण्ड सुलिभानको तथ्यांकका आधारमा कम्पनीले आफ्नो हङकङ प्रोसपेक्टसमा २०२५ को पूर्वार्द्धमा एआई र उच्च-प्रदर्शन कम्प्युटिङ पीसीबी बजारमा १३.८ प्रतिशत हिस्सा सहित विश्वमै पहिलो स्थानमा रहेको दावी गरेको रोयटर्सले उल्लेख गरेको छ।
कम्पनीका अनुसार उठाइएको रकममध्ये ७४ प्रतिशत चीनभित्र उत्पादन क्षमता विस्तारमा, ७ प्रतिशत उत्पादन दायरा विस्तारमा, ९ प्रतिशत अनुसन्धान तथा विकासमा र १० प्रतिशत कार्यशील पूँजी तथा अन्य कर्पोरेट प्रयोजनमा खर्च गरिनेछ।
सीपीई रोजवुड,जाङ्क फण्ड र ज्याक माको युनफेङ क्यापिटल नेतृत्वका मुख्य लगानीकर्ताहरूले करिब ९९.७ करोड डलर बराबरका सेयर किन्ने बताइएको छ।
अन्य प्रमुख लगानीकर्ताहरूमा मोर्गन स्ट्यान्ली एण्ड कम्पनी, बोसेरा एसेट म्यानेजमेन्ट इन्टरनेशनल, सनशाइन लाइफ, मिराइ एसेट, तियानहोङ फण्ड, एभरब्राइट वेल्थ म्यानेजमेन्ट, जम्प ट्रेडिङ र लुहुआ डाओशेङ रहेका छन्। जेपी मोर्गन, चाइना सेक्यिटिज इन्टरनेशनल र जीएफ सेक्युरिटिज संयुक्त प्रायोजक रहेका छन्।
यो सम्झौताले विशेष गरी नियामकीय दबाब र भूराजनीतिक अनिश्चितता बढिरहेको अवस्थामाहङकङ बजारले ठूलो प्रविधि कम्पनीहरूको आईपीओ सफलतापूर्वक सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने परीक्षण गर्नेछ।
हङकङले पछिल्लो पाँच वर्षकै सबैभन्दा बलियो पहिलो त्रैमासिक आईपीओ प्रदर्शन गरेको छ, तर बेइजिङले विदेशमा दर्ता भएका केही चिनियाँ कम्पनीमाथि निगरानी कडाइ गरेको छ भने हङकङ नियामकहरूले पनि बैंकहरूमा कर्मचारी र आईपीओ कागजातको गुणस्तरबारे दबाब बढाएका छन्।
स्टक एक्सचेन्जका अनुसार मार्च ३१ सम्म ३९ मुख्य बोर्ड कम्पनीहरू सूचीबद्ध भइसकेका छन् र ४०९ प्रक्रिया क्रममा छन्, जबकि २०२६ को हालसम्म १९० नयाँ आवेदन स्वीकृत भइसकेका छन्। एलएसईजीको तथ्यांक अनुसार, हङकङ स्टक एक्सचेन्जमा आईपीओबाट उठेको रकम पहिलो त्रैमासिकमा ११.६४ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २.४ अर्ब डलरभन्दा धेरै हो।
भिक्ट्री जायण्टको सूचीकरणले मुयुआन फूड्सको करिब १.५ अर्ब डलरको सम्झौताभन्दा ठूलो हुन सक्छ र २०२४ मा माइडिया ग्रुपको ४.६ अर्ब डलरको आईपीओपछि सबैभन्दा ठूलोमध्ये एक हुन सक्छ।
प्रकाशित: ३० चैत्र २०८२, सोमबार