
काठमाडौं ।
जापानले चिप निर्माता र्यापिडसका लागि थप ४ अर्ब डलर बराबर सहयोग स्वीकृत गरेको छ।
जापानको उद्योग मन्त्रालयले शनिबार चिप निर्माता र्यापिडसमा अनुसन्धान तथा विकासलाई तीव्र बनाउन थप ६३१.५ अर्ब येन (करिब ३.९६ अर्ब डलर) सहयोग स्वीकृत गरेको जनाएको छ।
रोयटर्सका अनुसार यो सहयोग उन्नत सेमिकन्डक्टरको घरेलु उत्पादन बढाउने र चिप आपूर्ति श्रृंखला मजबुत बनाउने सरकारी प्रयासको हिस्सा हो।
नयाँ रकमसहित र्यापिडसले पाउने कुल अनुसन्धान तथा विकास सहयोग २.३५४ ट्रिलियन येन पुगेको छ।
मन्त्रालयले आफ्नो मातहतको संस्था न्यू एनर्जी एन्ड इन्डस्ट्रियल टेक्नोलोजी डेभलपमेन्ट अर्गनाइजेशन (एनईडीओ) ले फुजित्सु र आईबीएम जापानसँग सम्बन्धित सेमिकन्डक्टर डिजाइन परियोजनाहरूलाई पनि समर्थन गर्ने निर्णय गरेको जनाएको छ।
र्यापिडसले २ नानोमिटर स्तरका नयाँ पुस्ताका लोजिक सेमिकन्डक्टर विकास गरिरहेको छ र २०२७ आर्थिक वर्षमा ठूलो मात्रामा उत्पादन सुरु गर्ने योजना बनाएको छ।
गत फेब्रुअरीमा कम्पनीले निजी कम्पनीहरूबाट करिब १६० अर्ब येन लगानी सुरक्षित गरेको थियो, भने सरकारले २५० अर्ब येन लगानी गर्ने योजना बनाएको छ।
प्रकाशित: ३० चैत्र २०८२, सोमबार