
काठमाडौं ।
फरारीले आफ्नो पहिलो इलेक्ट्रिक कार विकास गर्न नासासँग सहकार्य गरेको छ।
फरारी आफ्नो पहिलो इलेक्ट्रिक सवारी साधन तयार गर्ने क्रममा रहेको र यसको विकासका लागि उसले सहयोग लिएको बुझिएको छ। कम्पनीले गाडीको केबिन डिजाइन गर्न एप्पलका पूर्व प्रमुख डिजाइन अधिकारी जोनी आइभको लभफ्रमसँग पनि सहकार्य गरेको छ।
इलेक्ट्रिक गाडीको तीव्र एक्सेलेरेशनले यात्रुलाई असहज नबनाओस् भन्ने सुनिश्चित गर्न फेरारीले नासासँग पनि सम्पर्क गरेको थियो। फरारीका सीईओ बेनेडेट्टो भिग्नाले इलेक्ट्रिक सवारी साधन अत्यन्तै छिटो गतिमा एक्सेलेरेट गर्न सक्ने भएकाले “कहिलेकाहीँ यसले हाम्रो मस्तिष्कलाई नै असहज बनाउँछ” भन्दै यसका लागि विशेषज्ञहरूको सहयोग लिएको बताएका छन्।
नासासँगको सहकार्यका साथै कम्पनीले चिकित्सकीय अध्ययनहरू पनि गरेको थियो। अटो निर्माता कम्पनीले मानिसहरूलाई कति स्तरको एक्सेलेरेशनले असहज बनाउँछ भन्ने पत्ता लगाउन चाहेको बताइएको छ।
तर नासा र अन्य चिकित्सकीय विशेषज्ञसँग परामर्श गरे पनि फेरारीको “लुचे” नाम दिइएको इलेक्ट्रिक कार भने निकै छिटो हुने बताइएको छ।
टेलिग्राफका अनुसार फरारीको यस इलेक्ट्रिक कारको पहिलो प्रस्तुतिमै केही प्रारम्भिक विवरण सार्वजनिक भइसकेको छ। गत अक्टोबरमा कम्पनीले यो गाडीमा ९८६ हर्सपावरभन्दा बढी शक्ति हुने र ० देखि ६० माइल प्रतिघण्टा गति २.५ सेकेन्डमै हासिल गर्ने दावी गरेको थियो। यसको अधिकतम गति १९३ माइल प्रतिघण्टा रहने बताइएको छ।
प्रकाशित: ३० चैत्र २०८२, सोमबार