रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

  • Technology Khabar | २९ चैत्र २०८२, आईतवार
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

काठमाडौं ।

मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर फर्किएको आर्टेमिस द्वितीय अभियानका चार अन्तरिक्ष यात्रीहरू ऐतिहासिक रेकर्डसहित शनिबार हर्षोल्लासपूर्ण वातावरणमा घर फर्किएका छन्।

गहिरो अन्तरिक्षमा अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा पूरा गरी उहाँहरू नासाको ह्युस्टनस्थित केन्द्रमा अवतरण गर्दा स्वागतका लागि ठूलो जमघट भएको थियो।

सान डिएगोको समुद्री क्षेत्रमा सफल अवतरणपछि उनीहरूलाई त्यहाँबाट उडाएर जोनसन स्पेस सेन्टर नजिकैको एलिङ्गटन फिल्डमा ल्याइएको थियो। अवतरणपछि सबैभन्दा पहिले परिवारसँग भावुक भेटघाट गरेका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, अन्तरिक्ष यात्री क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेनले त्यसपछि स्वागत कार्यक्रममा सहभागी हुँदै आफ्नो अनुभव बाँडे।

नासाका प्रशासक ज्यारेड इसाकम्यानले उनीहरूलाई औपचारिक रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्दै टोलीप्रति सम्मान व्यक्त गरे। कार्यक्रममा नासाका उच्च अधिकारीहरू, उडान तथा प्रक्षेपण निर्देशकहरू, सैन्य अधिकारीहरू, सांसदहरू र वर्तमान तथा पूर्व अन्तरिक्ष यात्रीहरूको उपस्थिति थियो, जसले वातावरणलाई अझ विशेष बनाएको थियो।

उनीहरूको घर फिर्ती एउटा ऐतिहासिक सन्दर्भसँग समेत जोडिएको थियो। आर्टेमिस टोली अपोलो १३ को प्रक्षेपण भएको ५६औँ वार्षिकोत्सवकै दिन ह्युस्टन फर्किएको हो, जुन मिशन ‘ह्युस्टन, हामीलाई समस्या परेको छ’ भन्ने ऐतिहासिक सन्देशका कारण चर्चित बनेको थियो। त्यो कठिन क्षणलाई सफलतामा परिणत गरेको स्मरणसँगै नयाँ पुस्ताका अन्तरिक्ष यात्रीहरूको उपलब्धि जोडिनु प्रतीकात्मक मानिएको छ।

कमान्डर वाइसम्यानले आफ्नो अनुभव सुनाउँदै अन्तरिक्ष यात्रा भावनात्मक रूपमा चुनौतीपूर्ण रहेको बताउनुभयो। उनले प्रक्षेपणअघि यो सपना जस्तो लागे पनि अन्तरिक्षमा पुगेपछि पृथ्वी र आफ्ना प्रियजनहरूसँग फर्कने चाहना झन् प्रबल हुने अनुभव सुनाए। पाइलट ग्लोभरले आफूले भोगेको अनुभव अझै पूर्ण रूपमा आत्मसात गर्न नसकेको प्रतिक्रिया दिए।

अर्कोतर्फ ह्यानसेनले यो यात्रालाई मानवता र सहकार्यको प्रतिविम्बका रूपमा व्याख्या गरे। उनका अनुसार टोलीले आपसी विश्वास र प्रेमबाट शक्ति लिँदै यात्रा सम्पन्न गरेको हो। कोचले भने पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा आएको अनुभूति वर्णन गर्दै ब्रह्माण्डको विशाल कालोपनबीच हाम्रो ग्रह जीवन बोकेको एउटा सानो आश्रयजस्तो देखिएको बताए।

करिब १० दिन लामो यस अभियानमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट अधिकतम दुई लाख ५२ हजार ७५६ माइल (चार लाख छ हजार ७७१ किलोमिटर) दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको छ। यो अपोलो १३ को पुरानो रेकर्डभन्दा बढी हो।

चन्द्रमाको पछाडि पुगेर यू–टर्न गर्दै फर्कने क्रममा उहाँहरूले मानव आँखाले पहिले नदेखेका दृश्यहरू कैद गर्नुभएको थियो। पूर्ण सूर्यग्रहणको दृश्यले यात्रालाई अझ अद्वितीय बनाएको थियो।

यस क्रममा खिचिएको ‘अर्थसेट’ तस्बिर विशेष चर्चामा छ, जसमा निलो पृथ्वी खैरो चन्द्रमाको पछाडि देखिन्छ। यो तस्बिरले सन् १९६८ मा अपोलो ८ द्वारा खिचिएको प्रसिद्ध ‘अर्थराइज’ तस्बिरको सम्झना दिलाएको छ।

यद्यपि, यस्तो ऐतिहासिक सफलताबीच केही चुनौती पनि देखिएका थिए। यात्राका क्रममा अन्तरिक्ष यानको शौचालयमा समस्या देखिएको थियो, जसलाई नासाले आगामी लामो चन्द्र अभियानअघि समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

यो अभियान सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानवलाई चन्द्र कक्षासम्म पुर्‍याउने उपलब्धि बनेको छ। अपोलो युगमा २४ जना अन्तरिक्ष यात्री चन्द्रमासम्म पुगेका थिए, जसमा १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए।

आर्टेमिस कार्यक्रमअन्तर्गत नासाले अब थप महत्त्वाकांक्षी योजनाहरू अघि बढाइरहेको छ। अर्को वर्ष आर्टेमिस तृतीय अन्तर्गत चन्द्र अवतरणको तयारी भइरहेको छ भने २०२८ मा आर्टेमिस चतुर्थ मार्फत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने लक्ष्य राखिएको छ।

नासाका प्रशासक इसाकम्यानले लामो अन्तरालपछि मानव चन्द्र यात्राको पुनरागमन भएको उल्लेख गर्दै नयाँ युगको सुरुआत भएको बताए। उहाँका अनुसार ५३ वर्षपछि यस्तो उपलब्धिले अन्तरिक्ष अन्वेषणमा नयाँ ऊर्जा थपेको छ।-रासस/एपी

प्रकाशित: २९ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार