कोलोराडोको नयाँ एआई कानुनको विरोधमा एक्सएआईद्वारा मुद्दा दायर

  • Technology Khabar | २८ चैत्र २०८२, शनिबार
कोलोराडोको नयाँ एआई कानुनको विरोधमा एक्सएआईद्वारा मुद्दा दायर

काठमाडौं ।

एक्सएआईले कोलोराडोको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) कानुनविरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीका अनुसार उक्त कानुनले विकासकर्ताहरूले एआई प्रणाली कसरी डिजाइन गर्ने भन्नेमा प्रतिबन्ध लगाएर र विवादास्पद सार्वजनिक विषयमा अभिव्यक्ति दिन बाध्य पारेर अमेरिकी संविधानको पहिलो संशोधन उल्लङ्घन गर्छ।

इलन मस्कको एआई कम्पनीले यो कानुनका कारण आफ्नो प्रमुख एआई मोडेल ग्रोकलाई राज्यको विविधता र भेदभावसम्बन्धी दृष्टिकोणअनुसार परिवर्तन गर्न बाध्य पारिने दाबी गरेको छ, जसले वस्तुनिष्ठता घटाउने बताइएको छ। कम्पनीले भन्यो, “देशभर विभिन्न राज्यहरूमा फरक-फरक रूपमा लागू हुने सरकारी नियमनले नवप्रवर्तनमा बाधा पुर्‍याउन सक्छ र खुला बजारमा प्रतिस्पर्धा कम गर्न सक्छ।”

हालै स्पेसएक्ससँग मर्ज भएको एक्सएआईले अदालतसँग उक्त कानुन असंवैधानिक भएको घोषणा गर्न र यसको कार्यान्वयन रोक्न आदेश मागेको छ। मुद्दामा ह्वाइट हाउसका कार्यकारी आदेशहरू पनि उल्लेख गरिएको छ जसले राज्य-स्तरको छुट्टाछुट्टै एआई नियमनको आलोचना गर्दै यस्तो व्यवस्थाले अमेरिकी एआई नेतृत्व र राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने चेतावनी दिएका छन्।

कोलोराडोका महान्यायाधिवक्ताको कार्यालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

केही प्रविधि कम्पनीहरू र रिपब्लिकन सांसदहरूले एआई नियमन संघीय तहमा वाशिङ्टनले गर्नुपर्ने बताएका छन्। तर क्यालिफोर्नियाका महान्यायाधिवक्ताले भने डाटा गोपनीयता र प्रविधिसम्बन्धी कानुन बनाउन कंग्रेसले ढिलाइ गरेको उदाहरण दिँदै केवल संघीय सरकारमै निर्भर हुन नहुने बताएका छन्। राष्ट्रपति ट्रम्पका एआई सल्लाहकारहरूले पनि राज्य-स्तरका छुट्टाछुट्टै नियमभन्दा एउटै राष्ट्रिय ढाँचामा संघीय निगरानी हुनुपर्ने पक्षमा रहेका छन्।

एक्सएआईले बिहीबार कोलोराडोको जिल्ला अदालतमा मुद्दा दायर गर्दै नयाँ एआई नियमन कानुन कार्यान्वयन रोक्न माग गरेको हो।

उक्त मुद्दाले सिनेटको २४औ२०५ नम्बरको विधेयकलाई चुनौती दिएको छ, जुन जुन ३० देखि लागू हुने तय छ। यस कानुनले रोजगार, आवास, शिक्षा, स्वास्थ्य सेवा र वित्तीय सेवाजस्ता क्षेत्रमा प्रयोग हुने “उच्च जोखिम” एआई प्रणाली विकासकर्ताहरूका लागि जानकारी खुलाउने र जोखिम न्यूनीकरणसम्बन्धी प्रावधानहरू लागू गर्छ।

प्रकाशित: २८ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...