बेलायतका टेलिकम ग्राहकहरूले अब आफ्ना गुनासाहरु पहिलेभन्दा छिटो माथिल्लो तहमा लैजान सक्ने

  • Technology Khabar | २७ चैत्र २०८२, शुक्रबार
बेलायतका टेलिकम ग्राहकहरूले अब आफ्ना गुनासाहरु पहिलेभन्दा छिटो माथिल्लो तहमा लैजान सक्ने
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

बेलायतमा नयाँ नियम लागू भएसँगै टेलिकम ग्राहकहरूले अब आफ्ना गुनासाहरु पहिलेभन्दा छिटो माथिल्लो तहमा लैजान सक्ने भएका छन्।

बुधबारदेखि लागू भएका नियमअनुसार ग्राहकहरूले सेवा प्रदायकसँग गुनासो दर्ता गरेको ६ हप्तापछि स्वतन्त्र विवाद समाधान प्रक्रियामा जान पाउनेछन्। यसअघि भने ८ हप्ता कुर्नुपर्थ्यो र त्यसपछि मात्र देशका दुई वैकल्पिक विवाद समाधान (एडीआर) योजनामध्ये एकमा जान पाइन्थ्यो।

अफकमले यो समयसीमा घटाउने निर्णय गत जुलाईमै गरेको थियो, तर टेलिकम कम्पनीहरूलाई आवश्यक तयारीका लागि नौ महिना समय दिएको थियो।

टेलिकम्स डटकमका अनुसार यस परिवर्तनप्रति सुरुमा टेलिकम कम्पनीहरू पूर्ण रूपमा सकारात्मक थिएनन्। धेरै कम्पनीहरूले, विशेष गरी प्रमुख सेवा प्रदायक ब्रिटिश टेलिकमले छोटो समयले गुनासो समाधान गर्न पर्याप्त समय नदिने बताएका थिए। साना सेवा प्रदायकहरूले भने तेस्रो पक्षसँग सम्बन्धित गुनासो समाधान गर्न कठिन हुने बताएका थिए, जसमा प्रायः ओपनरिच संलग्न हुने गर्छ।

अफकम फोरचान
फाइल तस्बिर

तर पछि ब्रिटिश टेलिकमले आफ्नो धारणा परिवर्तन गरेको थियो। कम्पनीको तथ्यांकले धेरैजसो गुनासो पहिलो ६ हप्तामै समाधान हुने देखाएको थियो, जुन अफकमको तथ्यांकसँग मेल खान्छ। नियामकका अनुसार जनवरी २०२४ सम्मका दुई वर्षमा ९४ प्रतिशत गुनासो पहिलो ६ हप्तामै समाधान भएका थिए, र बाँकीमध्ये २० प्रतिशतभन्दा कम मात्र अन्तिम दुई हप्तामा समाधान भएका थिए।

ब्रिटिश टेलिकमले छोटो समयसीमामा काम गर्न सहज हुने जनाएको भए पनि तेस्रो पक्षका नेटवर्क, योजना समस्या र सेवा प्रदायकको नियन्त्रण बाहिरका कारणले समस्या हुन सक्ने चेतावनी दिएको छ। अर्कोतर्फ प्रमुख प्रतिस्पर्धी भर्जिन मिडिया ओटू ले ८ हप्ताकै समयसीमा उपयुक्त हुने अडान कायम राखेको थियो। स्काई लगायत अन्य कम्पनीहरूले पनि यस्तै प्रतिक्रिया दिएका थिए।

यद्यपि अन्ततः नयाँ नियम लागू भएको छ र सबै टेलिकम कम्पनीहरूले यसलाई पालना गर्नुपर्नेछ।

यसैबीच अफकमले स्वचालित क्षतिपूर्ति योजनामा पनि परिवर्तन लागू गरेको छ, जसले सेवा मर्मतमा ढिलाइ, छुटेका अपोइन्टमेन्ट र नयाँ सेवा सुरुमा भएको ढिलाइलाई समेट्छ। यो योजना ब्रिटिश टेलिकम, भर्जिन मिडिया, भोडाफोन, स्काई, टकटक लगायत करिब एक दर्जन सेवा प्रदायकमा लागू हुन्छ।

अप्रिल १ देखि यसअन्तर्गत दिइने रकम मुद्रास्फीतिअनुसार बढाइएको छ। अब सेवा अवरुद्ध भएर मर्मत ढिलो भएमा प्रति दिन १०.३४ पाउण्ड, अपोइन्टमेन्ट छुटेमा ३२.३१ पाउण्ड, र नयाँ सेवा सुरुमा ढिलाइ भएमा प्रति दिन ६.४६ पाउण्ड क्षतिपूर्ति दिइनेछ। अफकमले ग्राहकहरूले पाउनुपर्ने क्षतिपूर्ति नपाएमा सेवा प्रदायकसँग गुनासो गर्न र आवश्यक परे ६ हप्तापछि एडीआर प्रक्रियामा जान सुझाव दिएको छ।

प्रकाशित: २७ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...