
काठमाडौं ।
अमेजनले थाइल्याण्डमा स्याटेलाइट सेवा विस्तार गर्ने क्रममा थाइकमसँग सहकार्य गरेको छ।
अमेजनले लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट सेवा स्थानीय साझेदारमार्फत बेच्ने सम्झौता गरेको हो, जहाँ थाइकमको सहायक कम्पनी टीसी १४२ अधिकृत वितरक र “ल्यान्डिङ राइट्स” वाहकका रूपमा काम गर्नेछ। यसले थाइकमलाई अमेजन एलईओको स्याटेलाइट नेटवर्कमार्फत कनेक्टिभिटी सेवा उपलब्ध गराउन सक्षम बनाउनेछ।
घोषणामा दुर्गम क्षेत्र र स्थल-आधारित नेटवर्कको पहुँच बाहिर रहेका समुदाय तथा व्यवसायहरूमा सेवा विस्तार गर्ने लक्ष्य उल्लेख गरिए पनि सेवा कहिले सुरु हुने भन्ने स्पष्ट गरिएको छैन।
टेलिकम्स डटकमका अनुसार यो सम्झौताले अमेजन लाई अमेरिकी प्रतिस्पर्धी स्पेसएक्स माथि अग्रता दिलाएको छ, जसको स्टारलिङ्क सेवा गत वर्ष थाइल्याण्डमा सञ्चालन गर्न अनुमति दिइएको थिएन।
स्थानीय सञ्चारमाध्यमका अनुसार स्पेसएक्सले पूर्ण रूपमा आफ्नै स्वामित्वमा कम्पनीमार्फत सेवा सञ्चालन गर्ने योजना बनाएको थियो, जुन थाइल्याण्डको नियमसँग मेल खाँदैन।
त्यहाँ टेलिकम क्षेत्रमा पूर्ण विदेशी स्वामित्व अनुमति छैन। नेशनल ब्रोडकास्टिङ एण्ड टेलिकम्युनिकेशन्स कमिशनले यो विषयमा कुनै छुट नदिएको बताइएको छ। अमेजन ले भने स्थानीय साझेदारमार्फत सेवा बेच्ने मोडेल अपनाएर नियमअनुसार काम गर्दै स्पेसएक्स भन्दा अघि बढ्न सफल भएको हो।
थाइकमलाई पनि यसबाट फाइदा हुने अपेक्षा गरिएको छ। यसको हालको नेटवर्क चार वटा जियोस्टेशनरी अर्थ अर्बिट (जीईओ) स्याटेलाइटमा आधारित छ, जसले दक्षिण–पूर्व एशिया र मध्यपूर्वमा प्रसारण, सञ्चार र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। अमेजन एलईओको एलईओ स्याटेलाइटले कम ढिलाइ (लो लेटेन्सी) र उच्च गतिको कनेक्टिभिटी थपेर यसको सेवा क्षमता विस्तार गर्नेछ।
थाइकमका प्रमुख कार्यकारी अधिकृत पाटोम्पोब सुवानसिरीले अमेजन एलईओ को उच्च क्षमताको स्याटेलाइट कनेक्टिभिटी थाइल्याण्डका विभिन्न क्षेत्रमा ल्याउन पाउँदा खुशी लागेको बताए। उनले एलईओ स्याटेलाइट प्रविधि आधुनिक सञ्चार समाधानमध्ये एक महत्वपूर्ण प्रविधि भएको र भविष्यको व्यवसाय वृद्धिको प्रमुख आधार बन्ने उल्लेख गरे।
उनले थाइकमसँग ३४ वर्षभन्दा बढी अनुभव रहेको र अमेजन एलईओ को प्रविधिसँग एकीकृत गरेर विश्वसनीय तथा उच्च गुणस्तरीय सेवा दिन सकिने बताए। यस सहकार्यले विशेष गरी दुर्गम तथा सेवा नपुगेका क्षेत्रमा बढ्दो कनेक्टिभिटी आवश्यकतालाई सम्बोधन गर्ने जनाइएको छ।
अमेजनले एशियामा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयास तीव्र बनाएको छ। कम्पनीले जापान, दक्षिण कोरिया र ताइवानमा कर्मचारी भर्ना बढाएको छ भने इण्डोनेसिया र भियतनाममा लगानी गरेको छ भने साथै भारतमा प्रवेश गर्ने तयारीमा रहेको छ। अमेजन एलईओका व्यवसाय तथा उत्पादन उपाध्यक्ष क्रिस वेबरले थाइकमसँगको सहकार्यले विशेष गरी ग्रामीण, क्षेत्रीय र दुर्गम क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन्।
एलईओ स्याटेलाइट क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा दीर्घकालमा प्रति जीबी मूल्य घट्दै जाने सम्भावना रहेको छ। विश्वका ठूला क्लाउड कम्पनीमध्ये एकको समर्थन अमेजन एलईओ सँग भए पनि बजारमा सफल हुन अझै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
प्रकाशित: २७ चैत्र २०८२, शुक्रबार