
काठमाडौं ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-जीपी (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काहरूका विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गर्ने कार्य गरेको आरोपमा ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो तथा साइबर ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाख्रिवास न.पा. वडा नं. ५ घर भएका दिवाकर देउजा, गा.पा. वडा नं.३ बझाङका भरत धामी, बन्दीपुर गा.पा. वडा नं. १, तनहुँका संजय भट्ट, का.म.न.पा. -३३ काठमाडौंका भाष्कर राज अर्याल, हेटौंडा उ.म.न.पा. -१७, मकवानपुरका सागर कटुवाल र दुहवी न.पा. -५, सुनसरी घर भएका जीवन कुमार दास रहेका छन्।
प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिएको छ।
उनीहरु विरुद्ध उजुरी निवेदनको आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई उक्त कसूरमा संलग्न उल्लेखित शंकास्पद व्यक्तिहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो तथा साइबर ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको विरुद्ध हाल परिवर्तन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान कार्य भईरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
प्रकाशित: २६ चैत्र २०८२, बिहीबार