उनीहरुमाथि चीन सरकारद्वारा सञ्चालित सुपरकम्प्युटरबाट अति गोप्य सुरक्षा दस्तावेज र क्षेप्यास्त्रका योजनाहरू सहितका अत्यन्त संवेदनशील डाटा चोरी गरेको आरोप लागेको छ जसलाई चीनबाट भएको सबैभन्दा ठूलो डाटा चोरी घटनामध्ये एक मान्न सकिन्छ।
सीएनएनका अनुसार उक्त डाटासेटमा १० पेटाबाइटभन्दा बढी संवेदनशील सूचना रहेको दावी गरिएको छ। विज्ञहरूका अनुसार यो डाटा तियानजिनस्थित नेशनल सुपरकम्प्युटिङ सेन्टर (एनएससीसी) बाट प्राप्त गरिएको हुन सक्ने विश्वास गरिएको छ, जुन उन्नत विज्ञान र रक्षा निकायहरू सहित चीनभरका ६ हजारभन्दा बढी ग्राहकलाई पूर्वाधार सेवा उपलब्ध गराउने केन्द्रीय हब हो।
कथित ह्याकरसँग कुरा गरेका साइबर विज्ञहरूका अनुसार अनलाइन सार्वजनिक गरिएका चोरीका डाटाका नमुना समीक्षा गरेका छन्, ह्याकरले सजिलै प्रणालीमा प्रवेश पाएको देखिन्छ र धेरै महिनासम्म पत्ता नलागी ठूलो मात्रामा डाटा निकाल्न सफल भएको देखिन्छ।
‘फ्लेमिङ चाइना’ नामक एउटा एकाउण्टले फेब्रुअरी ६ मा एक अज्ञात टेलिग्राम च्यानलमार्फत उक्त डाटासेटको नमुना सार्वजनिक गरेको थियो, जसमा “एयरोस्पेस इन्जिनियरिङ, सैन्य अनुसन्धान, बायोइन्फर्मेटिक्स, फ्युजन सिमुलेसन लगायत विभिन्न क्षेत्रका अनुसन्धान” समावेश भएको दाबी गरिएको थियो।
समूहले उक्त जानकारी चीनको एभिएसन इन्डस्ट्री कर्पोरेशन, कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना र नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजी जस्ता “शीर्ष संस्थाहरू”सँग सम्बन्धित रहेको दावी गरेको छ।
यस विषयमा प्रतिक्रिया लिन सीएनएनले चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र साइबरस्पेस प्रशासनसँग सम्पर्क गरेको जनाएको छ।
डाटा समीक्षा गरेका साइबर सुरक्षा विज्ञहरूका अनुसार उक्त समूहले सीमित नमुना हजारौं डलरमा बिक्रीका लागि प्रस्ताव गरेको छ भने पूर्ण पहुँचका लागि सयौं हजार डलर माग गरिएको छ। भुक्तानी क्रिप्टोकरन्सीमार्फत मागिएको बताइएको छ।
सीएनएनले उक्त डाटासेटको स्रोत र फ्लेमिङ चाइना’ का दावीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन, तर प्रारम्भिक मूल्यांकनका आधारमा धेरै विज्ञहरूले यो डाटा वास्तविक जस्तो देखिएको बताएका छन्।
उक्त नमुनामा चिनियाँ भाषामा “गोप्य” भनेर चिन्ह लगाइएका दस्तावेज, प्राविधिक फाइलहरू, एनिमेटेड सिमुलेसन तथा बम र क्षेप्यास्त्रजस्ता रक्षा उपकरणका दृश्यहरू समावेश देखिएका छन्।
साइबर सुरक्षा कम्पनी सेन्टिनलवन का चीनसम्बन्धी विषयमा केन्द्रित परामर्शदाता डाकोटा क्यारीका अनुसार, “यी सामग्रीहरू सुपरकम्प्युटिङ सेन्टरबाट अपेक्षा गरिने प्रकारकै देखिन्छन्।”
उनले भने, “ठूला कम्प्युटेसनल कामका लागि सुपरकम्प्युटर प्रयोग गरिन्छ। विक्रेताले सार्वजनिक गरेका नमुनाले यस केन्द्रका ग्राहकहरूको व्यापकता देखाउँछ।”
उनका अनुसार, तीमध्ये अधिकांश ग्राहकहरूले आफ्नै सुपरकम्प्युटिङ पूर्वाधार स्वतन्त्र रूपमा सञ्चालन गर्न आवश्यक ठान्ने सम्भावना कम हुन्छ।
यसैगरी भाइजग्राड२४ नामक एक्स एकाउण्टमा पनि केही घण्टाअघि यसै सम्बन्धमा एउटा पोस्ट राखेको छ जसमा ह्याकरहरुले चीनको सुपरकम्प्युटिपङ फ्यासिलिटीबाट १० पेटाबाइट डाटा चोरी भएको र त्यसमा विशेषगरी मिसाइल तथा बमका सुत्रहरु, एरोस्पेश र उड्डयनसम्बन्धी अनुसन्धान र बायोइन्फर्मेटिक्स तथा फ्युजन सिमुलेशन डाटा रहेको उल्लेख गरिएको छ।