
काठमाडौं ।
भ्रष्टाचार मुद्दामा थुनामा रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलका अन्य मुद्वाका कागजातसमेत झिकाउन विशेष अदालतले आदेश दिएको छ।
०८०-CR-०१७४ नम्बरको विकल पौडेलसमेत प्रतिवादी रहेको भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दाको बहसको क्रममा प्रतिवादीको तर्फबाट उपस्थित कानुन व्यवसायीले उनका विरुद्धमा यसअघि परेका मुद्दाका कागजात समेत झिकाई हेर्न माग गरेकाले मंगलबार नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला रहेको इजलास उक्त आदेश जारी गरेको हो।
‘प्रतिवादी विकल पौडेलसमेत उपर यसै अदालतमा चली फैसला भएका ०७९-CR-०१२४ र ०७९-CR-०१९६ को सार्वजनिक संस्थाको सम्पत्ति हानीनोक्सानी, ०८०- CR-०१५७ को झुट्टा विवरण दिई भ्रष्टाचार गरेको र ०८०- CR-०१७२ को गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने मुद्दा र काठमाडौं जिल्ला अदालतमा कारबाहीयुक्त अवस्थामा रहेको ०८१-८२-००४३ को राष्ट्र बैंक ऐन बमोजिमको कसुर र ०८१- C२-००५९ को विदेशी विनिमय ऐन अन्तर्गतको मुद्दाको विषय प्रस्तुत मुद्दाको विषयसँग सम्वद्ध रहेकोले उक्त मुद्दामा समावेश भएका प्रमाण कागजात समेत हेरी पाऊँ भनी अनुरोध गर्नु भएकोले यस अदालतमा चलेका उल्लिखित मुद्दाहरूको मिसिल अवलोकनार्थ प्रस्तुत मुद्दा साथै राखी र काठमाडौं जिल्ला अदालतमा चलेको उल्लिखित मुद्दाका मिसिल पेशीको दिन इजलास समक्ष देखाई फिर्ता लैजाने गरी सो अदालतबाट झिकाई नियमानुसार पेश गर्नू’, आदेशमा भनिएको छ।
सम्बन्धित समाचार
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
प्रकाशित: २५ चैत्र २०८२, बुधबार