नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग छलफल

  • Technology Khabar | २४ चैत्र २०८२, मंगलवार
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग छलफल

काठमाडौं ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटगरी नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ।

छलफलमा अध्यक्ष उप्रेतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई माथि उठाउन वर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउँदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि वृद्धि हुने र रोजगारी पनि बढने बताए।

सो छलफलको क्रममा मन्त्री वाग्लेले सरकार राजश्व संकलनमा कसरी बृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै नीजिक्षेत्र मैत्री नीति ल्याइने आश्वासन दिए। साथै सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताए।

अध्यक्ष उपे्रतीले टायरट्युब ब्याट्री, लुब्रिकेण्टस र हेल्मेटजस्ता विभिन्न अटोमोबाइल वस्तुहरु नेपाल मै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसँग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउँदै सरकारले अटोमोबाइल वस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनु पर्ने धारणा राखे।

छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनण्ट उद्योगहरुको ठूलो सम्भावना रहेको बताए। यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुको सम्बर्द्धन र प्रवर्द्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गर्दै भारतमा जि.एस.टी घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखे।

नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई प्रत्सय दिनु पर्ने बताए। उक्त छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार