
काठमाडौं ।
आयरल्याण्डले सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्ने डिजिटल वालेटको परीक्षण गरिरहेको छ।
यस वर्षको अन्त्यतिर सार्वजनिक रूपमा उपलब्ध गराउने तयारी अघि बढाइँदै गर्दा आयरिश सरकारले आफ्नो गभर्नमेन्ट डिजिटल वालेटको परीक्षण गरिरहेको हो, जसमा सामाजिक सञ्जाल प्लेटफर्म पहुँच गर्न प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने सुविधा समावेश छ।
सरकारी प्रेस विज्ञप्तिमा सार्वजनिक खर्च, पूर्वाधार, सार्वजनिक सेवा सुधार तथा डिजिटलाइजेशन विभागले प्रयोगकर्ताहरूले जन्मदर्ता प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स, युरोपियन स्वास्थ्य कार्ड लगायतका कागजातहरूको डिजिटल संस्करण भण्डारण गर्न सक्ने जनाएको छ।
इन्ग्याजेटका अनुसार उक्त विभागका मन्त्री फ्र्याङ्क फेगनले परीक्षण चरणले डिजिटल वालेटको विकासमा सहयोग पुग्ने र यसलाई प्रयोगकर्ता मैत्री बनाउन मद्दत गर्ने बताए। सरकारले परीक्षण चरण कहिले सकिन्छ भन्ने स्पष्ट समयसीमा भने दिएको छैन, तर युरोपेली संघको नियमअनुसार आयरल्याण्डले सन् २०२६ को अन्त्यसम्म डिजिटल वालेट तयार पार्नुपर्नेछ।
फेगनका अनुसार यो प्रणालीले डिजिटल आयरल्याण्ड तथा अनलाइन सेफ्टी कोडको कार्यान्वयनअनुसार सुरक्षित उमेर प्रमाणीकरण सुविधा उपलब्ध गराउनेछ, जसअन्तर्गत सम्बन्धित प्लेटफर्महरूले विशेषगरी बालबालिका र युवाहरूलाई अनलाइन जोखिमबाट जोगाउन उमेर प्रमाणीकरण व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।
पाइलट चरण स्वेच्छिक आधारमा सञ्चालन गरिनेछ र सरकारले प्रतिक्रिया तथा चिन्ताहरू संकलन गर्न छोटो सर्वेक्षण पनि उपलब्ध गराएको छ। आयरल्याण्डसँगै अन्य धेरै युरोपेली संघ सदस्य देशहरूले पनि आफ्ना उमेर प्रमाणीकरण प्रणाली विकास गरिरहेका छन्।
यस वर्षको सुरुवातमै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले १६ वर्षमुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन घोषणा गरेका थिए।
प्रकाशित: २४ चैत्र २०८२, मंगलवार