
काठमाडौं ।
साउदी अरबले शनिबार ‘शम्स’ नामक भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार उक्त भूउपग्रह अन्तरिक्ष प्रक्षेपण प्रणालीमार्फत आर्टेमिस–२ अभियान अन्तर्गत अन्तरिक्षमा पठाइएको हो।
यस सफलतासँगै साउदी अरब आर्टेमिस कार्यक्रम अन्तर्गतको अभियानमा सहभागी हुने पहिलो अरब राष्ट्र बनेको छ, जसलाई अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
आर्टेमिस–२ अभियान अन्तरिक्ष अनुसन्धान र प्रविधि विकासलाई तीव्र बनाउने उद्देश्यसहित सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सहकार्य कार्यक्रमको दोस्रो चरण हो । यस अभियानमार्फत विभिन्न देशहरूले संयुक्त रूपमा नयाँ प्रविधि विकास, वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष अन्वेषणमा सहकार्य गरिरहेका छन् ।
शम्स’ स्याटेलाइट पृथ्वीभन्दा करिब ५०० किलोमिटरदेखि ७० हजार किलोमिटरसम्मको उचाइमा फैलिएको दीर्घवृत्ताकार कक्षमा सञ्चालन हुनेछ। यस्तो कक्षले भूउपग्रहलाई पृथ्वी वरपर व्यापक क्षेत्र समेट्ने क्षमता दिन्छ, जसले सौर्य गतिविधि र विकिरणको विस्तृत रूपमा निगरानी गर्न सहज बनाउँछ।
उक्त भूउपग्रहबाट प्राप्त हुने तथ्यांकले अन्तरिक्ष मौसमसम्बन्धी अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसले सौर्य गतिविधिबाट उत्पन्न हुने प्रभावहरू—जस्तै सञ्चार प्रणाली, उपग्रह सञ्चालन तथा विद्युतीय संरचनामा पर्ने असर—सम्बन्धी अध्ययनलाई अझ प्रभावकारी बनाउनेछ।
यस प्रक्षेपणले साउदी अरबको अन्तरिक्ष क्षेत्र विकास गर्ने दीर्घकालीन रणनीति पनि झल्काउँछ । देशले प्रविधिमा नवप्रवर्तन प्रोत्साहन गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ।
विशेषज्ञहरूका अनुसार ‘शम्स’ भूउपग्रहले साउदी अरबलाई अन्तरिक्ष विज्ञान तथा अनुसन्धानमा नयाँ उचाइमा पुर्याउने मात्र नभई विश्वव्यापी वैज्ञानिक सहकार्यमा पनि थप सशक्त भूमिका खेल्न मद्दत गर्नेछ। रासस/सिन्ह्वा
प्रकाशित: २३ चैत्र २०८२, सोमबार