
काठमाडौं ।
सरकारले सोमबारदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
यससँगै कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ। नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु हुने जानकारी पनि प्रवक्ताले दिए।
साथै, इन्धनको खपत घटाउन डिजेल र पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ। यस्तै ‘डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंक बाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन गरी जम्मा ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।
अर्थ मन्त्रालयकै प्रस्तावमा दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता पनि सरकारले अनुमोदन गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव बमोजिम नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय र आयोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिइएको छ। त्यस्तै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरिएको छ।
प्रकाशित: २२ चैत्र २०८२, आईतवार