सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको सञ्चारमन्त्रीको भनाई

  • Technology Khabar | २० चैत्र २०८२, शुक्रबार
सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको सञ्चारमन्त्रीको भनाई
सञ्चारमन्त्री डा तिमिल्सिना काठमाडौँ १३ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि स्वागत कार्यक्रममा धारणा राख्दै । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

सार्वजनिक सेवा प्रशारण, रेडियो नेपाल को ७६औँ वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले संस्थालाई बलियो, जवाफदेही र परिणाममुखी बनाउने दिशामा मन्त्रालय नयाँ ऊर्जा र गतिका साथ अघि बढिसकेको स्पष्ट गरे।

उनले भने, “सरकारका निकायहरू बलिया भए मात्र नागरिकले सहज र गुणस्तरीय सेवा पाउँछन् । त्यसैले के गर्दा संस्था बलियो हुन्छ भन्ने विषयमा मन्त्रालयले नयाँ ढङ्गले काम अघि बढाएको छ। बलियो, जवाफदेही र प्रभावकारी संस्था निर्माणको विकल्प छैन ।”

मन्त्री तिमिल्सिनाले प्रतिनिधि सभा निर्वाचन पछि युवाको काँधमा देश सन्चालनको जिम्मेवारी आएको उल्लेख गर्दै राजनीतिक र प्रशासनिक संरचनामा देखिएका नकारात्मक प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक रहेको बताए।

“राजनीतिक रूपमा हाम्रा संस्थामा नकारात्मकता हावी भएको छ । देशले खोजिरहेको दिशा पहिचान गरेर हामीले त्यसअनुसार परिवर्तन गर्नुपर्छ,” उनले भने, “राजनीतिक मुल सुध्रियो, अब हरेक संस्था सुध्रिने र हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्ने बेला आएको छ।”

उनले जवाफदेहिता र अनुशासनमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै भने, “हामी आफैँ एक इन्च पनि नराम्रो गर्दैनौँ र नराम्रो गर्नेलाई छोड्दैनौँ। जहाँ कमजोरी छ, त्यहाँ कारबाही गर्छौं। सेटिङ गर्नेहरूलाई कानुनी दायरामा ल्याइन मन्त्रालय र सरकारले काम गरिरहेको छ।”

उनले सरकारी खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै अनावश्यक खर्च नियन्त्रण, प्रभावकारी सूचना सम्प्रेषण र सुशासनबीचको सम्बन्धलाई स्पष्ट पारे। साथै, आगामी पाँच वर्षभित्र युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यमा नागरिकको पनि समान जिम्मेवारी रहने उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा सूचना नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाहरूले त्यसको रक्षा गर्नुपर्नेमा जोड दिए। बदलिँदो सञ्चार प्रविधि, बजार प्रतिस्पर्धा र दर्शक–श्रोताको बदलिँदो चाहनालाई ध्यानमा राख्दै सार्वजनिक सेवा प्रसारणलाई अझ प्रभावकारी, विश्वसनीय र जनमुखी बनाउनु आवश्यक रहेको उनको भनाई थियो।

मन्त्री तिमिल्सिनाले आफ्नो विद्यार्थी जीवन सम्झँदै रेडियो नेपालले आफूलाई साहित्य लेखनतर्फ प्रेरित गरेको बताउँदै सार्वजनिक सेवा प्रसारण संस्थाले समाज निर्माणमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरे।

प्रकाशित: २० चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार