अन्तिम समयमा बोलपत्र पेश गर्दा खरिद प्रणालीमा अत्याधिक चाप, प्राविधिक सहायताको लागि कम्तिमा एक दिन लाग्ने स्पष्टोक्ति

  • Technology Khabar | १९ चैत्र २०८२, बिहीबार
अन्तिम समयमा बोलपत्र पेश गर्दा खरिद प्रणालीमा अत्याधिक चाप, प्राविधिक सहायताको लागि कम्तिमा एक दिन लाग्ने स्पष्टोक्ति

काठमाडौं ।

बोलपत्रदाताहरुले अन्तिम समयमा बोलपत्र पेश गर्ने प्रचलनका कारण विद्युतीय खरिद प्रणाली (e-GP) मा अत्याधिक चाप बढ्न जाने देखिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रदाताहरुलाई सचेत गराएको छ।

कार्यालयको सूचना प्रविधि शाखाले उक्त विद्युतीय खरिद प्रणालीमा बोलपत्रदाताहरुबाट बोलपत्र पेश गर्ने अन्तिम समयमा Bid Submission र Bid Modification को कार्य गर्दा बोलपत्र पेश गर्न नसकिएको भनि धेरै गुनासाहरु यस कार्यालयमा प्राप्त हुने गरेका बताएको हो।

“धेरै जसो बोलपत्रदाताहरुले अन्तिम समयमा बोलपत्र पेश गर्ने प्रचलनका कारण प्रणालीमा अत्याधिक चाप बढ्न जाने भएको हुँदा निर्धारित समयमा बोलपत्र पेश हुन नसक्ने जोखिम रहन्छ,” कार्यालयले भनेको छ।

निर्धारित समयमा बोलपत्र पेश हुन नसकेमा कार्यालय जिम्मेबार नहुने चेतावनी समेत दिएको छ।

“विद्युतीय खरिद प्रणालीको Terms and Conditions of e-GP System User Agreement मा प्रयोगकर्ताले बोलपत्र पेश गर्नका लागि आवश्यक सबै प्रक्रिया र चरणहरू पूरा गर्नुपर्नेछ। कुनै बोलपत्र पेश गर्ने सबै प्रक्रिया र चरणहरू सफलतापूर्वक पूरा भए पश्चात मात्र बोलपत्र पेश भएको मानिनेछ । बोलपत्रदाताद्वारा अपूर्ण बोलपत्र/ प्रस्ताव पेश गरिएको अवस्थामा, त्यसको जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायहरूले वहन गर्ने छैनन् भन्ने व्यवस्था भएको जानकारी गराएको छ।

तसर्थ कार्यालयद्धारा बोलपत्रदाताहरुलाई समयमै बोलपत्र पेश गर्न, अन्तिम समयमा बोलपत्र पेश हुन नसकेमा बोलपत्रदाता स्वयं जिम्मेवार हुने र अन्तिम समयमा यस कार्यालयद्धारा प्राविधिक सहायता प्रदान गर्न समय अभाव रहन सक्ने हुँदा प्राविधिक सहायताको लागि कम्तिमा पनि एक दिन अगावै सम्पर्क गर्न भनेको छ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ तथा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० ले व्यवस्था गरेबमोजिम एकल विद्युतीय खरिद प्रणालीको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ।

प्रकाशित: १९ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार