
काठमाडौं ।
स्टारलिङ्क अब मूलधारको विकल्प बन्दै गएको छ।
ओपनसिग्नलको नयाँ प्रतिवेदनअनुसार स्टारलिङ्क अब सीमित वा अन्तिम विकल्प मात्र नभई सुधारिएको प्रदर्शन र बढ्दो उपलब्धताका कारण मूलधारको सेवा प्रदायकका रूपमा उभिँदैछ।
प्रतिवेदनले भन्छ, विगतमा ग्रामीण क्षेत्रमा स्याटेलाइट इन्टरनेट “अनिच्छित सम्झौता” जस्तै थियो—उच्च विलम्बता (लेटेन्सी) र महँगो लागतका कारण फाइबर, केबल वा एक्सडीएसएल जस्ता संरचनाबाट टाढा रहेका प्रयोगकर्ताका लागि अन्तिम विकल्प मात्र थियो। तर अहिले बेलायतमा स्टारलिङ्कको सदस्यता BT का सबैभन्दा सस्ता योजनाभन्दा पनि सस्तो पर्ने अवस्था देखिएको छ।
स्टारलिङ्कले २०२५ मा आफ्ना ग्राहक संख्या दोब्बर बनाउँदै ४.५ मिलियनबाट ९ मिलियन पुर्याएको बताइएको छ। नोभेम्बर र डिसेम्बरमा दैनिक औसत २० हजार नयाँ प्रयोगकर्ता थपिएका थिए र फेब्रुअरी २०२६ सम्ममा १० मिलियन नाघेको छ।
अष्ट्रेलियामा गत वर्ष इन्टरनेट प्रदायक परिवर्तन गर्ने प्रत्येक पाँचमध्ये एक ग्रामीण घरधुरीले स्टारलिङ्क रोजेको देखिएको छ। यस्तै अवस्था ग्रामीण क्यानडामा पनि देखिएको छ भने शहरी क्षेत्रमा पनि यसको प्रयोग क्रमशः बढिरहेको छ।
ओपनसिग्नलको तथ्यांकअनुसार अमेरिकामा स्टारलिङ्कले पहिले पुराना टेलिकम र स्याटेलाइट प्रयोगकर्तालाई आकर्षित गर्नेबाट अब केबल सेवा प्रदायकका ग्राहकसमेत तान्न थालेको छ। विशेषगरी घर नबदलेका प्रयोगकर्ताले पनि यसलाई मुख्य इन्टरनेट विकल्पका रूपमा रोज्न थालेको संकेत देखिएको छ।
ब्राजिल र इन्डोनेसिया जस्ता उदीयमान बजारमा भने परम्परागत आईएसपीहरूका लागि भौतिक संरचना विस्तार महँगो हुने भएकाले स्टारलिङ्कले त्यहाँका खाली स्थान भरेर ग्राहक बढाइरहेको छ।
प्रतिवेदनले स्टारलिङ्कको सफलताको कारण सेवाको गुणस्तरमा ठूलो सुधार, विकसित बजारमा आक्रामक मूल्य निर्धारण, र उदीयमान बजारमा उच्च माग भएका तर सेवा नपुगेका क्षेत्रमा रणनीतिक विस्तार गरी तीन मुख्य पक्षलाई मानेको छ।
सातवटा बजारमा गरिएको अध्ययनले विश्वसनीयतामा उल्लेखनीय वृद्धि देखाएको छ, जसलाई भिडियो कन्फरेन्सिङ वा गेमिङ जस्ता कार्य बिना अवरोध पूरा गर्न सक्ने क्षमताबाट मापन गरिएको थियो। २०२५ को दोस्रो आधामा क्यानडा र बेलायतमा यस्तो स्कोर ३० प्रतिशतभन्दा बढी र अमेरिकामा २५ प्रतिशतले बढेको छ। यसको कारण स्टारलिङ्कले हार्डवेयरमा गरेको ठूलो सुधारका कारण “प्याकेट लस” कम भएको बताइएको छ।
२०२६ को सुरुवातसम्म ६५० भन्दा बढी डाइरेक्ट-टू-सेल स्याटेलाइट तैनाथ गरिएको, ग्राउन्ड स्टेशन संख्या बढाइएको, र “माइक्रो-ड्रप्स” झन्डै हटाउने गरी सफ्टवेयर सुधार गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। मूल्य निर्धारणतर्फ, स्टारलिङ्कले दुई प्रकारको रणनीति अपनाएको छ। उत्तर अमेरिका र युरोपजस्ता भरिपूर्ण बजारमा यसले सस्तो दरमा १०० एमबीपीएस र २०० एमबीपीएस गति सीमा भएका योजनाहरू दिएको छ।
तर नाइजेरिया, फिलिपिन्स र इन्डोनेसियाजस्ता उदीयमान बजारमा उच्च मागका कारण सेवा धेरैजसो “सोल्ड आउट” हुने भएकाले प्रिमियम मूल्य र “डिमाण्ड सरचार्ज” लागू गरिएको छ। “जहाँ नेटवर्क पूर्ण क्षमतामा चलिरहेको छ, त्यहाँ प्रवेश अवरोध घटाउने प्रोत्साहन स्टारलिङ्कसँग कम हुन्छ,” प्रतिवेदनले भनेको छ।
भविष्यमा स्टारलिङ्कभारतजस्ता नयाँ बजारमा प्रवेश गर्ने र डोयच टेलिकमजस्ता अपरेटरसँग सहकार्य गरी स्याटेलाइट–टु–सेल सेवा सुरु गर्ने तयारीमा रहेको उल्लेख छ।
तर प्रतिस्पर्धा पनि बढ्दै गएको छ, विशेषगरी अमेजनको एलईओ परियोजना (पहिले प्रोजेक्ट कुइपर) बाट।
प्रतिवेदनमा भनिएको छ, “हामी नयाँ ‘स्पेस दौड’ देखिरहेका छौँ—यसपटक लक्ष्य चन्द्रमा होइन, जमिनका ग्राहक हुन्।” अमेजनले आफ्नो एडब्लूएस र आपूर्ति सञ्जाल प्रयोग गर्दै बजारमा प्रवेश गरिरहेको छ भने भायास्याट र यूटेल्स्याट वनवेबजस्ता कम्पनीहरूले बहु-कक्ष (मल्टि अर्बिट) रणनीति अपनाइरहेका छन्।
तर स्टारलिङ्कको प्रभुत्व केही संरचनात्मक चुनौतीसँग जोडिएको छ, विशेषगरी यसको प्रक्षेपणका लागि स्पेसएक्समा निर्भरता। यदि फाल्कन ९ वा स्टारशिप प्रक्षेपणमा ढिलाइ भयो भने त्यसले स्टारलिङ्कमात्र होइन प्रतिस्पर्धीहरूलाई पनि असर पार्न सक्छ, किनकि सस्तो र नियमित प्रक्षेपण विकल्प सीमित छन्।
टेलिकम्स डटकमका अनुसार प्रतिस्पर्धा अब पूँजी लगानी र नियामकीय नियन्त्रणतर्फ सरेको पनि प्रतिवेदनले औंल्याएको छ। प्रतिस्पर्धीहरूले अन्तर्राष्ट्रिय निकायमार्फत कक्षीय भीड र प्रकाश प्रदूषण जस्ता विषय उठाउँदै स्पेसएक्सका कक्षीय अनुमति चुनौती दिइरहेका छन्।
कक्षमा बढ्दो स्याटेलाइट संख्याका कारण टक्करको जोखिम पनि बढ्दै गएको छ, जसलाई टार्न इन्धन प्रयोग गर्नुपर्ने भएकाले स्याटेलाइटको आयु घट्ने सम्भावना हुन्छ।
अन्त्यमा प्रतिवेदनले भनेको छ, “स्याटेलाइट सेवा प्रदायकहरू अब केवल ब्रडब्यान्ड बजारमा सहभागी मात्र छैनन्, उनीहरूले यसको नियम नै फेरिरहेका छन्। उनीहरूका लागि आकाश अब सीमा होइन, प्रतिस्पर्धात्मक फाइदा बनेको छ।”
समग्रमा, प्रविधिमा सुधार र सेवा विस्तारका कारण स्टारलिङ्कराम्रो प्रदर्शन गरिरहेको देखिन्छ। स्याटेलाइट इन्टरनेट अब केवल पहुँच नभएका ठाउँका लागि मात्र नभई मुख्यधारको, प्रतिस्पर्धी र सस्तो विकल्पका रूपमा विकसित हुँदै गएको प्रतिवेदनले संकेत गरेको छ।
प्रकाशित: १६ चैत्र २०८२, सोमबार